इथियोपिया विमान दुर्घटना: ज्यान गुमाउनेहरूको अवशेष चिन्न छ महिनासम्म लाग्ने, आफन्तलाई दुर्घटनास्थलको माटो

दुर्घटनास्थलमा संयुक्त राष्ट्रसङ्घका कर्मचारीहरू मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, दुर्घटनास्थलमा संयुक्त राष्ट्रसङ्घका कर्मचारीहरू मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै

इथियोपियन एअरलाइन्सले गत हप्ता दुर्घटनामा परेर ज्यान गुमाएका १५७ जनाको अन्तिम संस्कार उनीहरूका परिवारजनलाई दुर्घटनास्थलबाट सङ्कलित खरानी र डढेको माटो दिन लागेको विवरण प्राप्त भएको छ।

समाचार संस्था रोएटर्सका अनुसार आदिस अबाबामा आयोजित एउटा शोकसभाका लागि दुर्घटना भएर विमान खसेको स्थानबाट सङ्कलित माटो उपलब्ध गराउन लागिएको हो।

शारीरिक अवशेषको परीक्षण गरेर दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिहरूको पहिचान गर्न छ महिनासम्म लाग्ने उनीहरूका परिवारलाई बताइएको छ।

मार्च १० मा दुर्घटनामा परेपछि बोइङ कम्पनीले निर्माण गरेको ७३७ म्याक्स ८ र ९ मोडलका विमानहरूलाई संसारभरि सबै वायुसेवाले उडानबाट हटाएका छन्।

दुर्घटनामा परेर संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रममा कार्यरत नेपालकी एकता अधिकारीको पनि मृत्यु भएको थियो।

कारण पत्ता लगाउन समय लाग्ने

इथियोपियाका यातायातमन्त्रीले सो विमान दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानकर्ताहरूलाई धेरै समय लाग्न सक्ने बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, विमान दुर्घटना

शनिवार आयोजित पत्रकार सम्मेलनमा ड्यागमाविट मोगेसले भने, "त्यो स्तरको अनुसन्धानका लागि सावधानीपूर्वक विश्लेषण गर्नुपर्छ र केही ठोस [निष्कर्ष] निकाल्न धेरै समय लाग्छ।"

ज्यान गुमाउने व्यक्तिको पहिचान गर्न सजिलो होस् भनेर आफन्तहरूसँग डीएनएको नमुना मागिएको छ। उनीहरूले नमुना इथियोपियन एअरलाइन्सको आदिस अबाबा वा अन्य देशमा रहेका कार्यालयमा बुझाउन सक्छन्।

मृत्युको प्रमाणपत्र भने दुई हप्ताभित्र उपलब्ध गराउने अपेक्षा गरिएको छ।

दुर्घटनास्थलमा मैनबत्ती

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, दुर्घटनास्थलमा मैनबत्ती

एक किलो माटो

समाचार संस्था एपीका अनुसार आइतवार इथियोपियाको राजधानीमा आयोजना हुन लागेको विशेष श्रद्धाञ्जलिसभाका लागि शोकसन्तप्त परिवारलाई एक-‍‍एक किलो डढेको माटो भएको झोला दिन लागिएको छ।

"शरीर चिन्न र अवशेष परिवारलाई बुझाउन असम्भवजस्तै भएकाले माटो दिइएको हो," एक आफन्तलाई उद्धृत गरिएको समाचारमा भनिएको छ, "हामीलाई आफ्ना प्रियजनको शव वा अङ्ग नदिइएसम्म हामी आराम गर्दैनौँ।"

दुर्घटनामा विभिन्न ३५ देशका नागरिक परेका थिए।

विमान इथियोपियाको आदिस अबाबाबाट केन्याको नाइरोबीका लागि उडेको थियो। तर केही मिनेटभित्रै दुर्घटनामा पर्‍यो।

दुर्घटनाबारे अनुसन्धान गर्न अमेरिका, फ्रान्स र अन्य देशका विशेषज्ञहरूले इथियोपियालाई सघाउँदैछन्।

विमानको फ्लाइट डेटा रेकर्डर र ब्ल्याक बक्स अर्थात् ककपिट भ्वाइस रेकर्डर फेला परिसकेका छन्।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line