बोइङ: संसारभरि ७३७ म्याक्स मोडलका विमान उडानमा रोक

७३७ म्याक्स

तस्बिर स्रोत, REUTERS

अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना ७३७ म्याक्स मोडलका सम्पूर्ण विमानहरूमा उडान रोक लगाएको छ।

यससँगै उसले निर्माण गरेका ३७१ वटा त्यस्ता विमानहरूले अर्को निर्णय नभएसम्म उडान गर्नेछैनन्।

अमेरिकी उड्डयन नियामक निकायले गत आइतवार उक्त मोडेलको एउटा विमान दुर्घटना भएको इथियोपियाबाट नयाँ प्रमाण भेटिएपछि त्यस्तो निर्णय लिइएको बताएको छ।

भेटिएको नयाँ प्रमाण र भू-उपग्रहबाट सङ्कलित पछिल्ला केही विवरणपश्चात् यस्तो निर्णय लिइएको अधिकारीहरूले बताएका छन्।

७३७ म्याक्स

तस्बिर स्रोत, Getty Images

यसअघि अमेरिकी सङ्घीय उड्डयन प्रशासनले उडानहरू रोक्ने आधार नभेटिएको बताएको थियो।

बोइङ

बुधवार भने उक्त निकायका कार्यवाहक प्रशासक डेनियल इल्वेलले भनेका छन्, "हामी सबै यो कुरामा स्पष्ट भएका छौँ कि दुर्घटना भएको इथियोपियन एअरलाइन्सले लिएको बाटो र उसको व्यवहार लायन एयरको जस्तै थियो। जमिनमा पाइएका प्रमाणले पनि त्यस्तै देखायो।"

सोही मोडेलको लायन एयरको विमान पाँच महिनाअघि इन्डोनेशियामा दुर्घटना हुँदा १८९ जनाले ज्यान गुमाएका थिए।

उजुरी

यसअघि राष्ट्रपति ट्रम्पले दुर्घटनास्थल र अन्यत्रबाट प्राप्त विवरण एवम् उजुरीका आधारमा आपत्कालीन आदेश दिन लागेको बताएका थिए।

गत वर्षको अन्त्यतिर केही अमेरिकी पाइलटहरूले उक्त विमानलाई उडाउने बेलामा नियन्त्रण गर्न समस्याहरू भएको उजुरी गरेका थिए।

बोइङले भने उक्त मोडेलको विमानको सुरक्षामा आफू सुनिश्चित रहेको बताएको छ।

उडानहरू रोक्नुलाई भने उसले 'निकै उच्च स्तरको सावधानी' अपनाएको बताउँदै मानिसहरूलाई पुन: आश्वस्त पार्न चाहेको जनाएको छ।

यसअघि नै ब्रिटेन, युरोपेली सङ्घ, चीन, अस्ट्रेलिया र भारत लगायतका देशले आफ्ना विमानसेवामा उक्त मोडलको जहाजलाई उड्न रोकिसकेका थिए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

सो मोडलको विमान सन् २०१७ देखि मात्रै व्यावसायिक उडानमा प्रयोग हुन थालेको हो।

बोइङको वेबसाइटका अनुसार १६ वटा वायुसेवा कम्पनीले सो मोडलका विमानहरू किनेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, इथियोपियामा विमान दुर्घटना
Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line