बोइङ: इथियोपिया विमान दुर्घटनापछि ७३७ म्याक्स ८ जेटहरू ग्राउन्डेड

बोइङ ७३७ म्याक्स ८

तस्बिर स्रोत, Getty Images

इथियोपियन एअरलाइन्सको विमान दुर्घटनापछि विभिन्न वायुसेवा कम्पनीहरूले 'बोइङ ७३७ म्याक्स ८ जेट' लाई उडानबाट हटाएका छन्।

आदिस अबाबाबाट उडेको केही मिनेटमै सो विमान आइतवार बिहान दुर्घटनाग्रस्त हुँदा १५७ जनाको मृत्यु भएको थियो।

पाँच महिनाभित्र बोइङ ७३७ म्याक्स ८ मोडलको विमान दुर्घटनामा परेको यो दोस्रो पटक हो।

चीनको उड्डयन नियामक निकायले घरेलु वायुसेवा कम्पनीहरूलाई सो मोडलका विमानहरूको उडान स्थगित गर्न निर्देशन दिएको छ।

इथियोपियन एअरलाइन्स तथा केमन एअरवेजले पनि सो मोडलका आफ्ना विमानहरू उडानबाट हटाएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, विमान दुर्घटना हुँदा प्रत्यक्षदर्शीले के देखे

इथियोपियामा विमान दुर्घटना हुनुको कारण अहिले नै भन्न नसकिने विज्ञहरूको धारणा छ।

केही महिनाअघि इन्डोनेशियमा पनि सोही मोडलको विमान दुर्घटनामा परेको थियो।

लायन एअरको स्वामित्वमा रहेको सो विमान पनि धावनमार्गबाट उडेको केही बेरमै दुर्घटनाग्रस्त हुँदा १८९ जनाको मृत्यु भएको थियो।

चीनको नागरिक उड्डयन प्रशासनले एउटा विज्ञप्तिमा दुवै दुर्घटना भर्खर सञ्चालनमा आएका 'बोइङ ७३७ म्याक्स ८' विमान उड्नासाथ भएकाले तिनमा केही समानता भएको टिप्पणी गरेको छ।

उसले ती विमानका सबै उडान स्थानीय समयानुसार साँझ ६ बजेभित्र स्थगित गर्न निर्देशन दिएको छ।

सो निर्देशनबाट एअर चाइना, चाइना इस्टर्न एअरलाइन्स, चाइना सदर्न एअरलाइन्स र अन्य कम्पनीहरू प्रभावित हुनेछन्।

चीनमा सो मोडेलका कम्तीमा ९० वटा विमान सञ्चालनमा छन्।

बोइङ ७३७ म्याक्स ८
Presentational white space

बोइङ ७३७ को इन्जिन बनाउने फ्रान्सेली एरोस्पेस समूह साफोँको शेयर मूल्य सोमवार घट्यो।

सो विमान सन् २०१७ देखि मात्रै नियमित उडानमा प्रयोग हुन थालेको हो।

बोइङले आइतवारको दुर्घटनाबाट आफूलाई दु:ख लागेको भन्दै अनुसन्धानका लागि प्राविधिक सहयोग गर्न टोली पठाउने जनाएको छ।

इथियोपियाले बोइङ कम्पनी र अमेरिकाका विशेषज्ञहरूसँग समन्वय गरेर दुर्घटना अनुसन्धान गर्नेछ।

भारतले पनि सो मोडलका विमान सञ्चालनबारे नियामक निकायहरूसँग छलफल गरेको बताएको छ।

भारतमा जेट एअरवेज र स्पाइसजेटले 'बोइङ ७४७ म्याक्स ८' मोडलका विमान प्रयोग गर्छन्।

तर उनीहरूले कुनै टिप्पणी गरेका छैनन्।

अरू कसले प्रयोग गर्छन्?

बोइङको वेबसाइटका अनुसार १६ वटा वायुसेवा कम्पनीले सो मोडलका विमानहरू किनेका छन्।

टीयूआई ग्रूपसँग त्यस्ता १५ वटा विमान छन्। उसले उत्पादकसँग आफू सम्पर्कमा रहेको र ती विमान चलाउन नहुने कारण नदेखेको बताएको छ।

इथियोपियन एअरलाइन्सको विमान

तस्बिर स्रोत, JONATHAN DRUION

फ्लाईदुबईका प्रवक्ताले परिस्थितिबारे विचार गरिरहेको समाचार संस्था रोएटर्सलाई बताएका छन्।

नर्वेजियन एअरलाइन्ससँग १८ वटा त्यस्ता विमान छन्।

तीमध्ये अधिकांशले आयरल्यान्ड र अमेरिकामा उडान गर्छन्। उसले ती विमान चलाउन छोडेको छैन।

सो एअरलाइन्सका निर्देशकले बोइङ र उड्डयन निकायले जे भन्छन् त्यो मान्ने बताएका छन्।

उनले भने, "हाम्रा यात्रुको सुरक्षा नै हाम्रो उच्च प्राथमिकता हो र हुन्छ।"

सिल्कएअर, आरोलिनियस आर्जेन्टिनास र एअर इटालीसँग पनि त्यस्ता विमानहरू छन्। उत्तर अमेरिकाका वायुसेवाहरूले पनि ती विमान चलाउँछन्।

साउथवेस्ट एअरलाइन्ससँग ३१ एवम् एअर क्यानडा र अमेरिकन एअरलाइन्ससँग २४-२४ वटा 'बोइङ ७३७ म्याक्स ८ जेट' छन्।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line