इथियोपिया विमान दुर्घटना: 'अत्याधुनिक प्रविधि' सहितको नयाँ मोडलको बोइङ पाँच महिनामै दोस्रो दुर्घटनामा

भिडिओ क्याप्शन सुरु हुँदैछ, विमान दुर्घटना हुँदा प्रत्यक्षदर्शीले के देखे

आइतवार १५७ जनाको ज्यान जानेगरी भएको इथियोपियन एअरलाइन्सको दुर्घटनाग्रस्त विमान अमेरिकी निर्माता कम्पनी बोइङले बनाएको हो।

उक्त दुर्घटनालाई अक्टोबरमा इन्डोनेशियामा भएको लायन एअरको विमान दुर्घटनासँग तुलना गरिँदैछ।

बोइङ ७३७ म्याक्स ८

निर्माता कम्पनीले विभिन्न प्रश्नहरूको सामना गर्नुपरेको छ।

तर विज्ञहरूले इथियोपियन एअरलाइन्सको विमान दुर्घटना हुनुको कारणबारे बोल्नु अहिले निकै अपरिपक्व हुने बताएका छन्।

त्यही मोडलको विमान गत अक्टोबरमा जाकार्ताबाट उडेलगत्तै दुर्घटना हुँदा त्यसमा सवार १८९ जनाको ज्यान गएको थियो।

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार चीन सरकारले देशका सबै आन्तरिक वायुसेवा कम्पनीहरूलाई बोइङको त्यो मोडलका सबै विमानहरूलाई नउडाउन र तिनको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ।

भग्नावशेष छरिएको क्षेत्र कस्तो

इथियोपिया

आइतवार इथियोपियाली वायुसेवाको विमान दुर्घटना भएको स्थलमा उद्धारकर्ताहरूले भग्नावशेषको खोजी गरिरहेका छन्।

त्यो विमान इथियोपियाको राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नाइरोबीतर्फ उडेको केही बेरमै दुर्घटनाग्रस्त हुन पुगेको थियो।

त्यसमा विभिन्न ३५ देशका यात्रुहरू सवार रहेको बताइएको छ।

संयुक्त राष्ट्रसङ्घले त्यो विमानमा आफ्नो सङ्गठनका १९ जना कर्मचारी रहेको बताएका छन्।

खेत भएको ठाउँमा विमान खस्दा निकै ठूलो खाडल परेको छ। विमानका टुक्रा र यात्रुका सामान निकै ठूलो क्षेत्रमा छरिएका छन्।

राष्ट्रिय शोक

आइतवार आदिस अबाबानजिकै भएको विमान दुर्घटनापछि इथियोपियामा राष्ट्रिय शोक घोषणा गरिएको छ।

इथियोपियाली प्रधानमन्त्री अबिय अहमदले दु:खदायी दुर्घटनापछि आफू निकै स्तब्ध भएको बताएका छन्।

उनले दुर्घटनाको अनुसन्धानसम्बन्धी प्रतिवेदन सार्वजनिक गरिने पनि जनाए।