इन्डोनेशिया सुनखानी: सुलावेसीमा गएको पहिरोमा दर्जनौँ कामदार पुरिए

भिडिओ क्याप्शन सुरु हुँदैछ, खानी भएको ठाउँको भौगोलिक स्थितिले उद्धारकार्य प्रभावित भएको छ

इन्डोनेशियाको एउटा अवैध सुनखानीमा केही दिनअघि गएको पहिरोमा पुरिएका दर्जनौँ कामदारहरूको खोजी भइराखेको छ।

सो खानी सुलावेसी द्वीपको बोलाङ मोङ्गोन्डो क्षेत्रमा छ। मङ्गलवार गएको पहिरोमा पुरिएका व्यक्तिहरू जीवित छन् कि भनेर उद्धारकर्ताहरूले खोजी गरिराखेका छन्।

अहिलेसम्म कम्तीमा सात जनाको मृत्यु भएको र १९ जनाको उद्धार गरिएको अधिकारीहरूले बताएका छन्।

सुनखानी भिरालो ठाउँमा छ। त्यहाँ हिलो र कमजोर सतह भएका कारणले खोजी तथा उद्धारमा प्रयोग हुने गह्रुङ्गा उपकरणहरू लान सकिएको छैन।

उद्धारकर्मीहरूले केवल हात, बेल्चा र डोरी प्रयोग गरेर जीवित कामदारहरूलाई खानीबाट बाहिर निकाल्नुपरेको छ। उनीहरूलाई कामचलाउ स्ट्रेचरमा राखेर उद्धार गरिएको छ।

कसरी गयो पहिरो?

एक अधिकारीका अनुसार सो खानीमा केही चर्किएको देखिएको थियो। मङ्लवार त्यो भत्कियो र पहिरो गयो।

खानीभित्र उद्धार गरिँदै

तस्बिर स्रोत, BNPB

घटना हुँदा सो सुनखानीमा दर्जनौँ मानिसहरू काम गरिराखेका थिए। तर उनीहरूको सङ्ख्या स्पष्ट छैन।

अधिकारीहरूका अनुसार खानीको दलिन थेग्न राखिएका निदालहरू माटो र सुन निकाल्न जडित माइनिङ श्याफ्टहरू हल्लिएपछि भत्किए। त्यसपछि पहिरो गयो।

जमिनमुनि कति जना फसेका छन् त्यो भन्न गाह्रो भएको एक अधिकारी बताउँछन्

बोलाङ मोङ्गोन्डोका प्रमुख यास्ति सोइप्रेड्जो भन्छन्, "हामीलाई त्यहाँ धेरै मानिसहरू छन् भन्ने लाग्छ। किनभने यो अवैध खानी हो र हामी सङ्ख्या अनुमान गर्न सक्दैनौँ।"

"उद्धार गरिएका व्यक्तिका भनाइ हेर्दा सङ्ख्यामा एकरूपता छैन। केही खानीमा सय जनाभन्दा बढी थिए भन्छन्, केहीले झन्डै ८० जना थिए भनेका छन्। ठिक सङ्ख्या कति हो भन्ने हामीलाई अझै थाहा छैन।"

सुलावेसी

इन्डोनेशियामा सानो मात्रामा सुन उत्खनन गर्न प्रतिबन्ध छ। तर गाम्रीण क्षेत्रमा त्यो व्यापक रूपमा गरिन्छ।

नियमनको अभाव र अस्थायी खानीहरूको निर्माण कमजोर हुने हुँदा बारम्बार दुर्घटनाहरू भइरहन्छन्।

रोजगारीको अवसर नपाएकाले मानिसहरू बाध्य भएर अवैध उत्खननमा लागेको अभियानकर्ताहरू बताउँछन्।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line