भारतीय निर्वाचन: मोदीले ट्विटर अभियान चर्काउँदा महिलाको आवाजको पक्षमा ममता

विश्वकै ठूलो लोकतन्त्र मानिने भारतको आगामी निर्वाचनका लागि विभिन्न राज्यहरूबाट उम्मेदवारहरूको सूची सार्वजनिक गर्ने प्रक्रिया चलिरहेको छ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले आफ्नो पार्टी 'अल इन्डिया तृणमूल कंग्रेस' को उम्मेदवार सूची सार्वजनिक गरेकी छन् जसमा ४१ प्रतिशत महिलाहरू रहेका छन्।

जम्मा ४१ उम्मेदवारमध्ये १७ जना महिला छन्। तीमध्ये दुई क्षेत्रीय अभिनेत्रीहरू मिमी चक्रवर्ती र नुसरत जहान पनि छन्।

संसद्मा भने पुरुष नै हाबी

यसअघि सन् २०१४ को निर्वाचन जितेकी भूतपूर्व अभिनेत्री मुनमुन सेन यसपालि पनि प्रतिस्पर्धा गर्दैछिन्।

महिलाहरूको उपस्थितिलाई लिएर आफूलाई धेरै खुसी लागेको र यो निकै गौरवपूर्ण क्षण भएको भन्दै उनले अन्य पार्टीलाई पनि त्यसै गर्न चुनौती दिएकी छन्।

विगत केही वर्षयता मतदान गर्न जाने महिलाहरूको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ।

भारतका गाउँपरिषद्हरूमा सन् १९९० को पूर्वार्धदेखि महिलाका लागि स्थान आरक्षित गरिए पनि संसद्‌मा भने अझै पनि पुरुष नै हाबी छन्।

महिला मतदाताहरू चुनाव जित्नका लागि शक्तिशाली बन्दै गइरहेका बेला राजनीतिक दलहरूले पनि उनीहरूलाई सक्रिय रूपमा लक्षित गर्नुपर्ने महसुस गरिरहेका छन्।

विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले महिलाका लागि निश्चित सीट सङ्ख्या छुट्याउने प्रतिबद्धता बुधवार व्यक्त गरेका छन्।

मोदीको आग्रह

बीस वर्षअघि आफ्नो पार्टीले गरेको उक्त प्रस्तावअनुसार यदि कंग्रेस सत्तामा आए ३३ प्रतिशत सीट महिलालाई जानेछ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले शृङ्खलाबद्ध रूपमा ट्वीट गरेका छन्।

उनले आफ्ना ट्वीटमा चर्चित कलाकारदेखि सञ्चारकर्मी र विपक्षी राजनीतिज्ञलाई पनि ट्याग गरेका छन् र धेरै मानिसहरूलाई मतदान गर्न उत्प्रेरित गर्न पनि भनेका छन्।

कंग्रेसकी नेत्री प्रियङ्का गान्धी अन्तत: ट्विटरमा आएकी छन्।

प्रधानमन्त्री मोदीको गृहराज्य गुजरातमा भाषण गरेको केही घण्टापछि उनले दुईवटा ट्वीट गरेकी छन्।