टरिजा मेले प्रस्ताव गरेको ब्रेक्जिट सम्झौताको प्रस्ताव दोस्रोपटक अस्वीकृत

टरिजा मे

तस्बिर स्रोत, Reuters

ब्रिटिस प्रधानमन्त्री टरिजा मेले प्रस्ताव गरेको युरोपेली संघ इयुबाट ब्रिटेन बाहिरिने सम्झौता दोस्रोपटक अस्वीकृत भएको छ।

मार्च २९ मा ब्रिटेन युरोपेली संघ इयुबाट बाहिरिने मिति तोकिसकिएको बेला मंगलवार संसदको तल्लो सदनको ठूलो बहुमतले सो प्रस्ताव अस्वीकृत गरिदिएको हो।

प्रधानमन्त्री मेका अनुसार सांसदहरूले अब बुधवार बिना कुनै सम्झौता इयु छाड्ने प्रस्तावबारे मतदान गर्नुपर्नेछ।

मेले के भनिन्?

मंगलबार साँझ संसदमा थकित र स्वर बसेको लवजमा बोल्दै प्रधानमन्त्री टरिजा मेले आफू निकै दु:खित् भएको बताइन्।

तर उनको भनाइ थियो, "म अझै पनि के कुरामा विश्वस्त छु भने सबैभन्दा उपयुक्त नतिजा भनेको व्यवस्थित रूपबाट सम्झौतासहित इयु छाड्नु नै हुनेछ। र हामीहरूले तय गरेको सम्झौता नै हामीसँग उपलब्ध भएकोमध्ये सबैभन्दा उपयुक्त समेत हो।"

ब्रिटेन

तस्बिर स्रोत, Getty Images

मेले सांसदहरूलाई ढिलो गरि हुने बहिर्गमन चाहेको वा अर्को जनमत संग्रह चाहेकोमा निर्णय लिन भनेकी छन्। अथवा 'सम्झौता सहित इयु छाड्न चाहेको तर यो सम्झौता नचाहेको' भन्नेमा समेत स्पष्ट हुन भनेकी छन्।

ब्रिटेनसामु भएका ती विकल्प सहज नभएको बताएकी उनले आफ्नो प्रस्ताव अस्वीकृत भएपनि ती सामना गर्नुको विकल्प समेत नहुने बताइन्।

बिना कुनै सम्झौता इयु छाडिने अवस्थामा आयरल्याण्डसँगको सीमा व्यवस्थापन कसरी गरिने भन्ने योजना बुधवार सरकारले घोषणा गर्ने उनको भनाइ थियो।

ब्रेक्टिट

तस्बिर स्रोत, AFP/GETTY IMAGES

अब के हुन्छ?

बुधवारको मतदानमा विना सम्झौता इयु छाड्ने प्रस्ताव स्वीकृत नभए बिहीवार ब्रेक्जिट प्रकृया नै ढिलो गर्ने विकल्प माथि मतदान हुने बताइएको छ।

प्रमुख विपक्षी दल लेबरका नेता जेरेमी कर्बिनले प्रधानमन्त्रीको प्रस्ताव स्पष्ट रूपमा विफल भइसकेकोले अब आमचुनावको घोषणा हुनुपर्ने बताएका छन्।

ब्रेग्जिट

तस्बिर स्रोत, Getty Images

ब्रिटेनमा भएका पछिल्ला विकासक्रमलाई युरोपेली नेताहरूले चिन्तापूर्ण रूपमा हेरिरहेका छन्।

इयुका ब्रेक्जिटसम्बन्धी मुख्य वार्ताकार मिसेल बार्नियरले एक ट्वीट गर्दै इयुले समयमै बहिर्गमनसम्बन्धी सम्झौता गराइसक्न आफ्नो तर्फबाट भरमग्दुर प्रयास गरेको बताए।

तर हाल जारी गतिरोधलाई केवल ब्रिटेनले नै समाधान गर्नु पर्ने उनले जनाए।

साथै कुनै सम्झौता बिना ब्रेक्जिट हुन सक्ने सम्भावनाका निम्ति अब इयुका तर्फबाट थप तयारी गर्नु महत्त्वपूर्ण भएको उनले बताए।