ब्रेक्जिट: वार्ता सघन, प्रगति कम

ब्रेक्जिट

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, ब्रेक्जिट प्रक्रिया अघि बढाउन प्रधानमन्त्री मेले युरोपेली नेताहरूलाई सम्बोधन गर्दैछिन्।
Published

युरोपेली युनियनका नेताहरूले ब्रिटेनसँग सघन कुराकानी भए तापनि आगामी महिना ब्रेक्जिटबारे विशेष शिखर बैठक बोलाउन पर्याप्त प्रगति हुन नसकेको बताएका छन्।

ब्रिटिश प्रधानमन्त्री टरिजा मे को कार्यालयका अनुसार सबभन्दा कठिन विषय आयरल्याण्डसँगको सिमानामा भन्सार जाँच रहेको छ।

यदि उनीहरूका प्रमुख वार्ताकार मिशेल बार्नियरले प्रगति भएको बताए, आगामी केही सातामा त्यस्तो विशेष सम्मेलन डाक्न उनीहरू तयार रहेको युरोपेली नेताहरूले जनाएका छन्।

सङ्क्रमणकाल

अष्ट्रियाका चान्सलर सेवास्टियन कर्जले ब्रिटेनले इयु छाड्ने प्रकृयाको लागि भइरहेका वार्तामा यो खराब दिन नरहेको बताए।

ब्रिटिश प्रधानमन्त्री मेले पनि उत्तरी आयरल्याण्डसँग सम्बन्धित वर्तमान गतिरोध तोड्नका निम्ति ब्रेक्जिटको सङ्क्रमणकाल केही लम्ब्याउने बारे सोच्न सकिने संकेत गरेको युरोपेली अधिकारीहरूले बताएका छन्।

बीबीसी सम्वाददाता लरा क्युन्सबर्ग भन्छिन् ब्रिटिश प्रधानमन्त्रीको कार्यालयले उक्त सङ्क्रमणकाल लम्बिनै नसक्ने भनेर भनेको छैन।

सम्बोधन

दुवै पक्ष ब्रिटेनले कुनै सहमति विना इयु छाड्नु पर्ने स्थिति आउन नदिन दृढ भएको बताइएको छ।

किनकी त्यसो भए राजनीतिक, आर्थिक तथा कानूनी अन्योल उत्पन्न हुन सक्ने ठानिएको छ।

ब्रेक्जिट प्रक्रिया अघि बढाउन प्रधानमन्त्री मेले युरोपेली नेताहरूलाई सम्बोधन गर्दैछिन्।

युरोपेली युनियनका २७ देशका नेताहरूसँग कुराकानी गरेपछि प्रधानमन्त्री मेले राम्रो नतिजा निस्कनेमा आफू विश्वस्त रहेको बताइन्।

उनले दुवै तर्फ साहस, विश्वास र नेतृत्वको खाँचो रहेको पनि बताइन्।