ब्रेक्जिट मतदान: ब्रिटेनको संसदमा हुने मतदानका बारे थाहा पाउनु पर्ने ६ कुरा

तस्बिर स्रोत, Getty Images
मङ्गलवार ब्रिटेनका सांसदहरूले प्रधानमन्त्री टरिजा मेले आगामी मार्च २९ तारिखमा ब्रिटेनलाई युरोपेली संघ इयुबाट बाहिर ल्याउने दिशामा तयार पारेको योजनामाथि मतदान गर्दैछन्।
यो समग्र विषयबस्तुबारे थाहा पाउनु पर्ने छ कुराहरू पढ्नुहोस्।
१. मतदान कतिखेर हुन्छ?
ब्रिटेनको स्थानीय समय अनुसार मंगलबार बेलुका संसदमा पूर्ण कार्यदिनको बहसपछि मतदान हुनेछ। सरकारले घोषणा नगरून्जेल मतदानको यकिन समय थाहा हुँदैन।
२. सांसदहरूले केमा मतदान गर्दैछन्?
प्रधानमन्त्री टरिजा मेले युरोपेली संघसँग दुई वर्ष लगाएर गरेको छलफलपछि तयार पारेको मस्यौदा सम्झौतामाथि सांसदहरूले आफ्नो निर्णय दिनेछन्।
३. यो मतदान किन महत्वपूर्ण छ?
यो एकदमै ठूलो मतदानको क्षण हो। यदि सांसदहरूले प्रधानमन्त्री मेको प्रस्तावलाई अस्वीकार गरेमा दुईमध्ये एक कुरा हुने निश्चित छ।
पहिलो आगामी मार्च २९ तारिखमा ब्रिटेन कुनै सम्झौता विना नै इयुबाट बाहिरिने छ। दोस्रो ब्रिटेन इयुबाट त्यसरी बाहिरिने मिति पछाडि धकेलिने छ।
सांसदहरूले प्रधानमन्त्री मेको सम्झौता प्रस्तावमा सहमति जनाए भने ब्रिटेन आगामी मार्च २९ तारिखमा इयुबाट बाहिरिने छ तर धेरैजसो कुराहरू भने सन् २०२० को डिसेम्बर महिनासम्म यथावत नै रहनेछन्।
त्यस अवधिमा दुवैपक्षले कुनै स्थायी प्रकृतिको व्यापारिक सम्झौता गर्ने प्रयास गर्नेछन्।
४. तर सांसदहरूले प्रधानमन्त्री मे को बहिर्गमन सम्झौतालाई अस्वीकार गरिसकेको होइन्?
हो। र त्यो पनि ठूलो मत अन्तरले त्यसबेलाको प्रस्ताव अस्वीकृत भएको थियो।

तस्बिर स्रोत, Getty Images
५. उसोभए अहिले के फरक हुँदैछ त?
प्रधानमन्त्री मेले सांसदहरूले मतदान गर्नु एकदिनअघि सोमबार उनको ब्रेक्जिट सम्झौताका सम्बन्धमा "कानुनीरूपमा बाध्यकारी हुने" परिवर्तनहरू सहितको सहमति हासिल गरिएको बताएकी छन्।
पहिलो परिवर्तन भनेको इयुले युकेलाई आयरल्याण्डको टापुमा खुलासिमाना कायमै राख्नका लागि गरिएको प्रावधानलाई लिएर अनिश्चितकालसम्म अलमल्याउने प्रयास गरेमा त्यसका विरुद्ध "औपचारिक विरोध" दर्ता गर्न पाइने छ।
दोस्रो भनेको इयु र युकेले जारी गर्ने "संयुक्त वक्तव्य" हो।
त्यसमा युके र इयुको भावी सम्बन्धका विषयमा हुने राजनीतिक वक्तव्य बाहेक पनि थप कुराहरू हुनेछन्।
र सन् २०२० को डिसेम्बरसम्मा ब्याकस्टप भनिने आयरल्याण्ड टापुस्थित खुला सिमानाको प्रावधानलाई प्रतिस्थापन गर्ने वैकल्पिक बन्दोबस्तप्रति प्रतिबद्धता जनाइनेछ।
६. सांसदहरूले यो सम्झौताको मस्यौदालाई फेरि पनि अस्वीकार गरेमा के हुन्छ?
बहिर्गमन सम्बन्धी प्रधानमन्त्री टरिजा मेको सहमति प्रस्तावलाई मंगलवार सांसदहरूले अस्वीकार गरेमा, तिनीहरूलाई विना कुनै सम्झौता इयुबाट युके बाहिरिने कि नबाहिरिने भन्ने विषयमा पनि मतदानको अवसर प्रदान गरिने वाचा गरिएको छ।








