तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
डोनल्ड ट्रम्प: उत्तर कोरियाले फेरि रकेट प्रक्षेपणस्थल बनाउनु 'निराशाजनक'
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यदि उत्तर कोरियाले पुन: रकेट प्रक्षेपणस्थल निर्माण गरेको हो भने आफू निराश हुने बताएका छन्।
बुधवार सार्वजनिक भएका भू-उपग्रहबाट खिचिएका तस्बिरहरूमा प्योङ्याङले पहिला नष्ट गर्ने प्रतिबद्धता व्यक्त गरेको सो स्थल फेरि बनाउन थालेको सङ्केत देखिएको छ।
उत्तर कोरियाले परमाणुअस्त्र परित्याग गर्नुपर्ने कुरा चलिरहँदा गत वर्ष सुरहेस्थित सो स्थल नष्ट गर्ने काम थालिएको थियो। तर अमेरिकासँगको वार्ता अवरुद्ध भएपछि त्यो काम रोकियो।
सन् २०१२ देखि नै सुरहे उत्तर कोरियाको भू-उपग्रह प्रक्षेपण गर्ने प्रमुख स्थलका रूपमा रहिआएको छ।
गत हप्ता अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किम जङ-अनबीच भियतनाममा शिखरवार्ता भएको थियो।
तर उत्तर कोरियाले आर्थिक प्रतिबन्धहरू हटाउने माग राखेपछि विनासहमति टुङ्गिएको थियो।
उत्तर कोरियाको गतिविधिबारे समाचार प्रकाशित भएपछि पत्रकारहरूसँग बोल्दै ट्रम्पले अहिले नै त्यो सूचना सत्य हो कि हैन भन्नु चाँडो हुने बताए।
उनले भने, "[तर] यदि त्यसो भइरहेको छ भने म धेरै निराश हुनेछु।"
"यो प्रारम्भिक विवरण हो। अध्यक्ष किमसँग म धेरै धेरै निराश हुनेछु, अनि म हुन्छु जस्तो चाहिँ लाग्दैन। तर हेरौँ के हुन्छ। हामी हेर्छौँ। अन्तत: यसको समाधान हुनेछ।"
उत्तर कोरियाले डोङ्चाङ-नी प्रक्षेपणस्थलबाट भू-उपग्रह तथा इन्जिनको परीक्षण गर्दै आएको भए पनि बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपणका लागि त्यसको कहिल्यै प्रयोग गरेको थिएन।
कैयौँ अमेरिकी 'थिङ्क ट्याङ्क' र दक्षिण कोरियाली गुप्तचर निकायहरूबाट प्राप्त भू-उपग्रहीय प्रमाणका अनुसार डोङ्चाङ-नीस्थित सुरहेमा रकेट प्रक्षेपणका लागि प्रयोग हुने प्याडमाथि संरचनाहरूको विकास तीव्र गतिमा भइरहेको छ।
तर बीबीसीकी लोरा बिकरका अनुसार प्योङ्याङले आफ्नो गतिविधिबाट वाशिङ्टनलाई आफूसँग अस्त्र निर्माण गर्न सक्ने प्रविधि भएको सम्झाउन खोजेको हुन सक्छ।
मङ्गलवार एउटा टेलिभिजन अन्तर्वार्तामा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले निरस्त्रीकरणको विषयमा प्रगति नभए उत्तर कोरियाले थप प्रतिबन्धको खेप्नुपर्ने स्थिति आउन सक्ने बताएका थिए।
गत वर्ष जुनमा सिङ्गापुरमा सम्पन्न ऐतिहासिक भेटमा ट्रम्प र किमले केही सहमतिहरू गरेका थिए। तिनमा निरस्त्रीकरणबारे केही सङ्केत गरिएको भए पनि त्यस मार्गमा खासै केही प्रगति भएको छैन।