ह्वावेई विवाद: किन यो विशाल चिनियाँ कम्पनी समस्यामा परेको छ

तस्बिर स्रोत, Getty Images
अहिले धेरै मानिसहरू ह्वावेईबारे चर्चा गरिरहेका छन्। सो कम्पनीले उच्च गुणस्तरका फोन बनाएको भएर र तिनको राम्रो समीक्षाका कारण मात्र त्यस्तो भएको भने होइन।
यो चिनियाँ कम्पनी थुप्रै ठाउँमा विवादमा परेको छ। यो कम्पनीले आफ्नो प्रविधि प्रयोग गरेर मानिसहरूको गुप्तचरी गरिरहेको आरोप लाग्ने गरेको छ।
तर ह्वावेईले त्यस्ता आरोप पूर्ण रूपमा अस्वीकार गर्दै आएको छ।
अहिले अमेरिकामा ह्वावेईविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ।
विश्वका अन्य देशमा पनि सुरक्षाको चासोका कारण यो विशाल कम्पनीमाथि रहेको विश्वास घट्दो छ।
एउटा प्रविधि व्यवसाय गर्ने कम्पनीमा के भइरहेको छ भन्नेबारे तपाईँलाई धेरै चासो नहुन पनि सक्छ।
तर तपाईँले नयाँ ह्वावेई फोन किन्ने कि नकिन्ने भनेर द्विविधा हुन सक्छ। त्यसैले के भइरहेको छ भन्नेबारे यो विवरण।
ह्वावेई के हो?
ह्वावेई कम्पनीले संसारभरि एपलको आईफोनभन्दा बढी फोन बेच्छ। सबभन्दा बढी साम्सङ बिक्छ, दोस्रोमा ह्वावेई।
ब्रिटेनमा सन २०१८ मा पी२०प्रो आएपछि ह्वावेई ह्यान्ड्सेटको बिक्री ह्वात्तै बढेको थियो।

तस्बिर स्रोत, Getty Images
थुप्रै समीक्षकहरूका अनुसार पी२०प्रो सामसङ र आईफोनको मुख्य प्रतिस्पर्धी बनेको छ।
फोन मात्रै बेच्ने होइन ह्वावेईले अरू फोन कम्पनीहरूलाई उनीहरूकै ह्यान्ड्सेट बनाउन प्रविधि पनि बेच्छ र वाईफाई नेट्वर्क पनि बेच्छ। वास्तवमा ह्वावेई जताततै छ।
किन सबैजना ह्वावेईबारे कुरा गरिरहेका छन्?
ह्वावेईले बेचेका लाखौँलाख मोबाइल फोन र प्रविधिबारे केही चासोहरू छन्।
केही देशलाई चिनियाँ सरकारले ह्वावेईको प्रयोग गरेर गुप्तचरी गरिरहेको छ कि भन्ने चिन्ता छ।
ह्वावेई स्थापना गरेका रेन जेङ्फी सन १९८० को आरम्भतिर चिनियाँ पिपल्स आर्मीसँग आबद्ध इन्जिनियर थिए।
चिनियाँ नेताहरूप्रति अविश्वास गर्ने थुप्रै व्यवसायी र सरकारहरूका लागि यो तथ्य चिन्ताको विषय रहँदै आएको छ।
चिनियाँ पिपल्स लिबरेशन आर्मी चिनियाँ कम्युनिस्ट पार्टीको सशस्त्र अङ्ग हो जसले चीनमा सन १९२१ देखि शासन गर्दै आएको छ।
ह्वावेईले चिनियाँ सरकारसँग आफ्नो सम्बन्ध नरहेको र आफू स्वतन्त्र कम्पनी रहेको बताउँछ।

तस्बिर स्रोत, Getty Images
तर ह्वावेई अमेरिकाका लागि सुरक्षा खतरा रहेको चेतावनी सन २०१२ देखि दिँदै आइएको छ।
ब्रिटेनमा सन् २०१८ मा तयार पारिएको एक रिपोर्टले ह्वावेईको ब्रोड्ब्यान्ड इन्टर्नेट सेवा र मोबाइल सेटहरू राष्ट्रिय सुरक्षामा खतरा छैनन् भन्नेबारे "सीमित मात्र आश्वस्त हुन सकिने" भनेको थियो। त्यसले पनि ह्वावेईका उत्पादनमाथि शङ्का थपिदिएको छ।
कोको संलग्न छन्?
अमेरिका र ब्रिटेन मात्रै चिन्तित भएका होइनन्।
सन् २०१८ मा अस्ट्रेलिया र न्यूजिल्यान्डले ह्वावेईलाई उनीहरूको 'फाइभजी' सेवा विस्तारमा सहभागी गराएनन्। त्यसो गर्नुमा पनि सर्वसाधारणको जासुसी हुने शङ्का कारक रहेको ठानिएको छ।
जेनुअरी २०१९ मा भोडाफोनले युरोप खासगरी स्पेनमा ह्वावेई उपकरण प्रयोगलाई यस्तै चिन्ताका कारण अहिले रोकेको छ।
अहिले के भइरहेको छ?

तस्बिर स्रोत, Getty Images
अमेरिकाको अदालतमा मुद्दा चलिरहेको छ जसमा ह्वावेईलाई ब्याङ्कमा नक्कली काम गरेको न्यायमा बाधा पुर्याएको र प्रतिस्पर्धी टी मोबाइलबाट प्रविधि चोरेको आरोप लगाइएको छ।
मानिसहरूमाथि जासुसी गरेको भन्ने त्यसमा परेको छैन।
यी आरोपहरू ह्वावेईले इरानसँग गरेको सम्झौतामा आधारित छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले "इरानसँग व्यवसाय गर्ने कम्पनीहरूले अमेरिकासँग व्यवसाय गर्न नसक्ने" बताएका छन्।
ह्वावेईका प्रमुख आर्थिक अधिकारी र रेन जेङ्फीकी छोरी मङ् वाङ्जू, क्यानडामा गिरफ्तार गरिएकी छन्। ह्वावेईले सबै आरोपहरू अस्वीकार गरेको छ।
तपाईँ ह्वावेईमै यी सब पढिरहनुभएको छ भने त्यसको के अर्थ हुन्छ?

तस्बिर स्रोत, Getty Images
ह्वावेईबारे धेरैजसो चिन्ता उसको अरू कम्पनीमा रहेको संलग्नतासम्बन्धी छन्।
ह्वावेईको पी२० प्रयोग गरेर फोटो खिच्नेहरूको विस्तृत विवरण खोतलिएको छैन।
स्मरणयोग्य कुरा के हो भने सो कम्पनीविरुद्ध मानिसहरूमाथि जासुसी गरेको मुद्दा चलाइएको छैन।
अनि अमेरिकामा अहिले चलिरहेको मुद्दामा पनि अहिलेसम्म कोही पनि दोषी प्रमाणि भएको छैन।

यो पनि पढ्नुहोस्









