ट्रम्प र किमबीच दोस्रो भेट ‘केही सातामै’

किम र ट्रम्प

तस्बिर स्रोत, AFP

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी महिनाको अन्ततिर उत्तर कोरियाली नेता किम जङ्-अनसँग दोस्रो शिखर सम्मेलन गर्ने ह्वाइट हाउसले जनाएको छ।

उत्तर कोरियाली वार्ताकार किम योङ्-चोलसँग ह्वाइट हाउसमा ट्रम्पको कुराकानी भएपछि उक्त घोषणा गरिएको हो।

किम योङ्-चोलले उत्तर कोरियाली नेताको पत्र ट्रम्पलाई दिने ठानिएको थियो।

कहाँ होला दोस्रो भेटघाट?

गत जुन महिनामा सिंगापुरमा भएको ऐतिहासिक पहिलो शिखर सम्मेलन यता परमाणु निरस्त्रीकरणको मुद्दामा खासै प्रगति भएको छैन।

दोस्रो शिखर सम्मेलन कहाँ हुनेछ भनेर बताइएको छैन।

तर यसपालिको भेट भियतनाममा हुने चर्चा चलेको छ।

सिंगापुर

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, यसअघि जुनमा ट्रम्प र किमबीच सिंगापुरको एक होटलमा भेटवार्ता भएको थियो।

किम योङ्-चोलको वाशिंगटन भ्रमणले उत्तर कोरियासँग परमाणु कुटनीति जारी रहेको सङ्केत गरेको बीबीसीकी संवाददाता बार्बरा प्लेट असरले बताइन्।

के छ दुईको आकांक्षा?

उत्तर कोरियासँगको सम्बन्धमा अमेरिकाले प्रस्ट चाहेको भनेको परमाणु निरस्त्रीकरण नै हो।

ऊ चाहन्छ प्योङयाङले विश्वसनीय ढङ्गबाट परमाणु निरस्त्रीकरण गरोस्।

"परमाणु अस्त्र विहीन भएको वाशिंगटन देख्न चाहन्छ," असले भनिन्।

तर उत्तर कोरियाका पनि आफ्ना चाहना छन्।

"प्योङयाङले यसलाई अलि समग्रतामा हेरिरहेको पाइन्छ। ऊ चाहन्छ कि दक्षिण कोरियाबाट ऊ विरुद्धका खतरा हटुन्। जसको अर्थ हुन सक्छ त्यहाँबाट अमेरिकी सेना हटोस् र त्यस क्षेत्रमा रहेका परमाणु क्षमतायुक्त पनडुब्बी तथा लडाकू विमान हटोस्। तर यसबारे प्योङयाङले प्रस्टतासहित भनेको छैन," असरले भनिन्।

के भयो सिंगापुर सम्मेलनपछि?

सिंगापुरको सम्मेलनमा खासै धेरै उपलब्धि भएका थिएनन्। त्यसैले त्यसको सफलता नाप्न सहज छैन।

हाल वाशिंगटन र प्योङयाङबीच परमाणु वार्ता रोकिएका छन्।

उत्तर कोरियामा रहेका परमाणु अस्त्रबारेका विस्तृत जानकारी दिइएका छैनन्। आर्थिक प्रतिबन्धहरू कायमै छन्।

तर नेता किम आफ्नो छवि उकास्न व्यस्त छन्।

उनले दक्षिण कोरियासँग सम्बन्ध सुधारेका छन्।

उत्तर कोरिया र चीनबीचको सम्बन्ध पनि सुध्रिएको देखिएको छ।