'किम-ट्रम्प शिखरवार्ताका लागि १ करोड ५० लाख डलर खर्च’

तस्बिर स्रोत, Reuters
सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुने शिखरवार्ताका लागि उनको देशले करिब १ करोड ५० लाख डलर खर्च गर्ने जनाएका छन्।
सो रकमको झण्डै आधा हिस्सा सुरक्षा व्यवस्थामा खर्च हुने बताइएको छ।
सिंगापुरको हितमा रहेको एउटा अन्तर्राष्ट्रिय प्रयासका लागि उक्त खर्च बेहोर्नु उचित भएको लीले बताएका छन्।

तस्बिर स्रोत, SINGAPORE/MOCI
साथै सो शिखरवार्तामार्फत् आफ्नो देशलाई राम्रै प्रचार मिल्ने पनि उनले बताएका छन्।
उत्तर कोरियाली नेता किमसँग भेट गर्नुपूर्व सिंगापुरका प्रधानमन्त्रीको त्यस्तो प्रतिक्रिया आएको हो।
आशा

तस्बिर स्रोत, Reuters
उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुने उनको बहु-प्रतीक्षित शिखरवार्ताका लागि सिंगापुर पुगिसकेका छन्।
बहालवाला अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुन लागेको भेटवार्ता यो नै पहिलो हो।
परमाणु अस्त्र परित्याग गर्नेसम्बन्धी प्रतिबद्धता किमका तर्फबाट आउने आशा वासिङ्टनले गरिरहेको छ।
सिंगापुरतर्फ जाँदै गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले उनकै शब्दमा दुई जनाबीचको भेटबाट कस्तो प्रतिफल आउने भन्ने थाहा पाउनलाई उनलाई एक मिनेट मात्रै लाग्ने जनाए।









