परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली: चीन र भारतबाट नेपाल त्रस्त हुनुपर्ने कारण छैन

प्रदीप ज्ञवाली
    • Author, रमा पराजुली
    • Role, बीबीसी नेपाली सेवा

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको बलियो सरकार र बलियो परराष्ट्रनीति कैयौँलाई पाच्य नभएकाले आलोचना गर्ने गरेको बताएका छन्।

उनले आफ्नो भेटवार्ता अमेरिकी समकक्षी माइक पोम्पेओसँग हुनुलाई ठूलो उपलब्धिको रूपमा चित्रित गरेको भए पनि अमेरिकाले भनेको जस्तो "केन्द्रीय भूमिका" मा नेपाल नजाने उनका पछिल्ला गतिविधिले प्रष्ट पारेको देखिन्छ।

के शक्तिशाली मुलुक अमेरिकाको जोड दिएका कुरामा नेपाल पछि सरेको हो भन्ने बीबीसीको प्रश्नमा उनले भने, "हरेक मुलुकको आफ्नो प्राथमिकता हुन्छ, नेपालको प्राथमिकता अहिले विकास र समृद्धि हो।"

भारतले विद्युत् खरिदसम्बन्धी व्यवस्था परिवर्तन गरेको, जलमार्गमा पहुँच र कृषिमा साझेदारीलाई उपलब्धिको रूपमा व्याख्या गरे।

अहिलेको सरकारको बाह्य सम्बन्धलाई दलीय आँखाले हेरेको भनेर सरकारको विरोध गर्ने लत कसैलाई लागेको भन्दै उनले विपक्षी दलहरूको आलोचना गरे।

दुई लाख अमेरिकी डलर खर्च गरेर नेपाल र भारतले तयार पारेको प्रबुद्ध समूहको प्रतिवेदन भारतलाई अस्वीकार्य भएको र रद्दीको टोकरीमा पुग्ने स्थितिमा रहेको कतिपय जानकारहरूले बताएका छन्।

तर मन्त्री ज्ञवालीले त्यसबारे भारतसँग निरन्तर कुराकानी भइरहेको र अन्तत: स्वीकृत हुने विश्वास व्यक्त गरे।

भारतले गरेको नोटबन्दी पछि नेपालका ब्याङ्क र सर्वसाधारणसँग करोडौँ रुपैयाँ कागजको खोस्टोमा परिणत भएको छ।

त्यस्ता नोटहरू भारतले भुटानबाट फिर्ता लिएको तर नेपालले किन त्यसमा केही गर्न नसकेको भन्ने प्रश्नमा उनले विरोध गर्नेहरूप्रति चर्को असन्तुष्टि व्यक्त गरे।

उनले दुई देशको सम्बन्ध अस्थिर हुँदा कतिले त्यसलाई कमाइ खाने भाँडो बनाउन पाउने हुनाले विरोध गरेको आरोप लगाए।

उनले भने, "हाम्रा छिमेकीप्रति राम्रो सम्बन्ध राखेको कसैलाई पाच्य भइरहेको छैन। त्यसैले यसका बारेमा अनावश्यक विवाद सिर्जना गर्ने प्रयास भइरहेको छ त्यसलाई हामीले नजिकबाट हेरिरहेका छौँ।"

उनले देशभित्र र बाहिर पनि त्यस्ता समूह रहेको बताए।

'विरोध गर्ने लत'

उनले भने, "हाम्रा बाह्य सम्बन्धलाई दलीय आँखाले हेर्ने सरकारको विरोध गर्ने लत पनि कसैलाई लागेको छ।"

नेपालले छिमेकी मुलुकहरू भारत र चीनसँग असल सम्बन्ध राख्ने टाढाका विकसित मुलुकसँग आर्थिक फाइदा हुने किसिमको सहकार्य गरिने बताए।

अमेरिकी समकक्षी माइक पोम्पेओसँग भेटवार्ता गर्दा इन्डो-प्यासिफिक क्षेत्रमा नेपालको "केन्द्रीय भूमिका" धेरै चर्चा भयो।

अमेरिकाले नेपाल आफ्नै पोल्टामा रहेको सन्देश नेपालका दुई छिमेकी मुलुक भारत र चीनलाई दिन खोजेको परराष्ट्र मामिलाका जानकारले बताए।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी चासोबारे पत्रकारहरूमार्फत् स्पष्टीकरण दिएपछि कैयौँले त्यसकलाई भारत र चीनको चासोलाई सम्बोधन गर्ने प्रयत्नका रूपमा हेरेका छन्।

तर मन्त्री ज्ञवालीले चीन या भारतबाट त्रस्त बन्नुपर्ने अवस्था नरहेको बताए।

बीबीसीसँग विशेष कुराकानी गर्दै मन्त्री ज्ञवालीले भने "दुवै छिमेकीसँग असल सम्बन्ध राख्छौँ। छिमेकभन्दा पर पनि अरू मित्र छन् भन्ने हामी बिर्सन्नौँ। हाम्रो देशको कूटनीतिक सम्बन्ध कायम भएको दोस्रो मुलुक अमेरिकालाई हामी उच्च महत्त्व दिन्छौँ।"

भारत भ्रमण

परराष्ट्र मन्त्रालय

बिहीवार भारतको भ्रमणमा जान लागेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय पक्षसँग प्रबुद्ध समूहको प्रतिवेदन बुझाउनेबारे कुराकानी गर्ने बताएका छन्।

उनले नेपालमा रहेका नचल्ने भारतीय नोटबारे पनि भारतसँग बारम्बार कुराकानी भइरहेको बताए।

उनले ईपीजी समूहको प्रतिवेदन र भारतीय नोट दुवै ससम्या समाधान हुने विश्वास व्यक्त गरे।

चीनसँग नेपाली सहकार्य

चीनले दक्षिण एशियाली मुलुकहरूलाई दिएको सहयोग पछिल्लो समय निकै विवादास्पद बनेको छ।

चीन नेपालबीच बनाउने भनिएको केरुङ-काठमाण्डू रेलमार्गमा प्रयोग हुने अर्बौँको रकम र त्यसले नेपाललाई भविष्यमा पार्न सक्ने समस्याबारे पनि चिन्ताहरू प्रकट हुने गरेका छन्।

ज्ञवालीले छिमेकीका समस्याबाट पाठ पढ्ने र नेपाललाई के राम्रो हुन्छ त्यस्तो मात्र शर्त मान्ने बताए।

तर चीनको सम्भावित सहयोगप्रति चासो व्यक्त गर्नेहरूप्रति उनी आक्रामक प्रस्तुत भए।

उनले दक्षिण अमेरिकामा विश्व ब्याङ्कले लगानी गर्दा त्यहाँका कतिपय मुलुकका अर्थतन्त्र टाट पल्टेका सन्दर्भ उल्लेख गरे।

उनले भने, "तर अरु देशको ऋण लिँदा कहीँ पनि टाट पल्टिन्न तर चीनको लियो भने ऋणको पासोमा फसिन्छ भन्ने भ्रम सिर्जना गर्न खोजिएको छ यो अर्थशास्त्रीय विश्लेषण होइन।"

नेपालको अहिलेको प्राथमिकता आर्थिक विकास र समृद्धि भएकाले जोसुकैबाट आउने सहयोग नेपालले लिने ज्ञवालीको भनाइ छ।

उनी भन्छन् "हामीले विकासमा फड्को मार्नु छ। तीन वर्षभित्रै अति अल्पविकसितबाट विकासशील र सन् २०३० सम्म मध्यम आय भएको मुलुकमा स्तरोन्नत गर्न चाहन्छौँ।"

सरकारको सेवा प्रवाहमा त्रुटि रहेको उनले स्वीकार गरे। अबका दिनमा जनतालाई दिने सहयोगमा केन्द्रित हुने उनले बताए।