तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कांग्रेस महासमिति बैठक: के कांग्रेसले अहिलेको गन्जागोलबाट पार पाउला?
- Author, शरद केसी
- Role, बीबीसी नेपाली सेवा
गृहकलहमा रुमल्लिँदै राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आलोचना खेपिरहेको नेपाली कांग्रेसको महासमिति बैठकले पार्टीको वर्तमान संरचनालाई संघीय ढाँचामा ढाल्ने मूल लक्ष्य लिएको छ।
उसले वर्तमान राजनीति, दुई तिहाई बहुमतको सरकारका कामकारबाही तथा पार्टीका भावी कदमबारे निर्णय लिने बताइन्छ।
गत चुनावमा ठूलो हार बेहोरेपछि शिथिल देखिएको अनि कतिपयले 'इतिहासकै कठिन चरणमा कमजोर दलको रूपमा घिस्रिरहेको' देख्ने गरेको कांग्रेस तङ्ग्रिएला?
कार्यकर्ता पनि जिम्मेवार
कैयौंले पार्टी नेतृत्वमाथि औंला उठाइरहेका बेला राजनीतिक इतिहासकार डा. राजेश गौतम कार्यकर्ताको काँधमा पनि जिम्मेवारी रहेको बताउँछन्।
उनी भन्छन्, "सबै नेता र कार्यकर्ताले आफ्नो कारणले पार्टी पछाडि परेको मनन गरेर संयुक्त रूपमा जान तयार भए कांग्रेसअघि बढ्छ। नत्र त आफू र आफ्नो समूहलाई केन्द्रमा राखेर अघि बढ्न खोजे पार्टीअघि आउन गाह्रो छ।"
२००७ साल र २०४६ सालका आन्दोलन र त्यसले ल्याएका परिवर्तनको अगुवाइ गरेको कांग्रेसले त्यसपछिका सत्ताको नेतृत्व गर्यो।
२०६२-६३ सालको जनआन्दोलनमा पनि प्रमुख अगुवा हुँदा समेत कांग्रेस संविधानसभाको पहिलो चुनावबाट प्रतिपक्षमा सीमित बन्न पुग्यो।
दोस्रो संविधानसभाबाट अघिल्लो क्षतिपूर्ति गर्यो।
आफ्नै नेतृत्वको सरकार छँदा संविधान पनि जारी गर्न सफल भयो।
तर त्यही संविधानअनुसार पहिलो पटक भएको संघीय, प्रदेश र स्थानीय तहको चुनावमा ठूलै झट्का बेहोर्नु पर्यो।
र, अहिले तिनै तहमा कमजोर प्रतिपक्षमा खुम्चिएको छ।
कांग्रेस जस्तो भएन कांग्रेस
राजनीतिक इतिहासकार राजेश गौतम तत्कालीन माओवादीसँग स्थानीय चुनावमा गरेको सहकार्य कांग्रेसको राजनीतिक भूल भएको सङ्केत गर्दै भने, "आफ्नो पार्टीलाई भोट नहालेर अर्कोलाई हाल्ने र हाल्न लगाउने नालायकीपन पनि कांग्रेसको निम्ति दुर्भाग्य हो।"
कांग्रेसले संविधान जारी भएपछि पहिले वाचा गरेअनुसार तत्कालीन एमालेलाई सहज सत्ता हस्तान्तरण नगरेको मात्र होइन, प्रधानमन्त्रीको चुनावमा एमालेविरुद्ध उम्मेदवारी पनि दियो।
हारपछि विपक्षी बेन्च रोजेको कांग्रेसले एमालेको सरकार ढाल्न माओवादीसँग सहकार्य गर्यो।
राष्ट्रिय सहमतिको सरकार बनाउन जोड दिइरहेको एमालेलाई बाहिरै राखेर कांग्रेस-माओवादीबीच सत्ताको लगन गाँठो कस्यो।
त्यही बेला हो स्थानीय चुनावमा केही ठाउँमा कांग्रेसले माओवादीसँग चुनावी गठबन्धन बनाएको।
कतिपयले त्यसलाई 'बाटो बिराउँदै कांग्रेसले आफ्ना मूल्य र मान्यता विपरीत मौका परस्त राजनीति गरेको उत्कर्ष'को रूपमा लिए।
अनलाइन पत्रिका बाह्रखरीका कार्यकारी सम्पादक तथा राजनीतिक टिप्पणीकार गोविन्द अधिकारीका भनाइमा त अहिले कांग्रेसले पहिचान गुमाएको छ।
उनी भन्छन्, "कांग्रेस एउटा विद्रोहको नाम थियो, पार्टीमात्र नभएर अभियान थियो, कांग्रेस शब्द नै रोमाञ्चक थियो। त्यसैले मानिस आकर्षित हुन्थे। कांग्रेस, कांग्रेस जस्तो भए पो जनताले रोज्ने हो, तर कम्युनिष्ट वा अरू जस्तो भए कांग्रेसलाई किन रोज्ने? हुन त कांग्रेसलाई माटो भेट्टायो भने फैलिने दुबो जस्तो भनिन्छ, तर दुबो नै सुक्यो भने फैलिदैन।"
जस होइन अबगालको आँधीबेहरी
अन्य दुई प्रमुख दललाई साथमा लिएर कांग्रेसले आफ्नै नेतृत्वको संयुक्त सरकारका बेला संविधान जारी गर्न सफल भएको हो।
एमालेलाई बाहेक गर्दा आलोचना खेपे पनि कांग्रेसले आफ्नो र आफ्नो सहभागिताको माओवादी नेतृत्वको सरकारमार्फत महत्त्वपूर्ण निर्वाचन गराउन सफल भयो।
जसप्रति एमालेले तीब्र आशङ्का व्यक्त गर्दै आएको थियो।
तर प्रधानन्यायाधीशविरुद्धको महाभियोग र प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणलाई लिएर चुनावको मुखमा अबगालको आँधीबेहरीमा फस्न पुगेको कांग्रेसले त्यसको जस समेत पाएन।
राजनीतिक इतिहासकार गौतमका बिचारमा कांग्रेसको वर्तमान नेतृत्वतह पूर्ववर्तिबाट राम्ररी दीक्षित नहुँदा दृष्टिकोण निखारिन नसक्दाका परिणाम हुन् यी।
चमत्कारिक अनुहार
पछिल्ला दशक महाधिवेशन भएको लामो समयसम्म पार्टीका विभाग अपूर्ण रहनु, भातृसंगठनको महाधिवेशन समयमा नहुनु कांग्रेसमा सामान्य भइसक्यो।
विचार र राजनीतिभन्दा स्वार्थप्रेरित गुट झाँङ्गिदो देखिन्छ। भागबण्डाको राजनीति उस्तै।
यस्तो बेथितिकाबीच दुई तिहाइ सरकारले भने पछिल्ला दिनमा आलोचना कमाइरहेको छ।
यस्तो बेला जनतासम्म पुगेर उनीहरूको बोलि बोल्न थाल्यो भने कांग्रेस बौरन सक्ने टिप्पणीकार गोविन्द अधिकारीको ठम्याइ छ।
त्यसको निम्ति सशक्त नेतृत्व दिन भन्दै कतिपय युवा नेताले वर्तमान नेतृत्वतहका नेतालाई आगामी महाधिवेशनबाट किनारा लगाउन अहिल्यैदेखि जोडबल गरिरहेको देखिन्छ।
बहना खोस्ने सुरसार
अपवाद बाहेक पार्टीको विरासत सम्हाल्ने चमत्कारिक अनुहार देखा नपरेको बताउने अधिकारी भन्छन्, "तर योग्य, इमान्दार र सक्षम नेताले विद्रोह गर्ने आँट गर्नु पर्यो वा उनीहरूलाई नेतृत्वले अगाडि आउन ढोका खोलिदिनु पर्यो।"
तीमध्ये एक विकल्पमा अघि बढेमा कांग्रेससँग खुट्टा टेक्ने परम्परागत जनाधार बाँकि रहेको उनको बुझाइ छ।
चुनावमा समानुपाति प्रणालीमार्फत पाएको मतलाई आधार बनाउँदै कांग्रेस नेतृत्वले आफूले आधारभूमि नगुमाएको दाबी गर्दै आएको छ।
तर गोविन्द अधिकारीले भने जस्तो 'माझीको हातबाट बहना खोसेर डुब्न लागेको कांग्रेसको डुङ्गा पार लगाउने' पात्र अघि सर्लान्?
अहिले सुरसार भइरहेको देखिन्छ। त्यसैले महासमितिको भित्रि दृष्यले त्यो अग्रसरतालाई कतिको हौस्याउला भन्नेमा चासो बढेको छ।