प्रधानन्यायाधीश: संवैधानिक परिषदबाट चोलेन्द्रशमशेरको नाम सिफारिस

प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका रूपमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस गरेको छ।

विहीवार बसेको परिषद्को बैठकले जबरालाई सिफारिस गरेको परिषद्का एकजना सदस्य एवं राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बीबीसीलाई बताए।

अब उनले संसदीय सुनुवाईको सामना गर्नुपर्नेछ।

परिषद्को निर्णयलाई संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि उनी प्रधानन्यायाधीश बन्नेछन्।

चासो

प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले यसअघि अस्वीकृत भएका दिपकराज जोशी सहित चोलेन्द्रशमशेर जबराको नाम संवैधानिक परिषद्‌मा सिफारिस गरेको थियो।

सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष काम गरिसकेका न्यायाधीश प्रधानन्यायाधीशको निम्ति योग्य हुने व्यवस्था छ।

यसअघि संसदीय सुनुवाई समितिले दीपकराज जोशीको नामको सिफारिसलाई उनले गरेका फैसला र उनका प्रमाणपत्रहरूमा प्रश्न उठाउँदै अस्वीकृत गरेको थियो।

यसअघि परिषद्‌ले सिफारिस गरेर पठाउँदा जोशीबारे पर्याप्त छलफल र अध्ययन नगरी संसदीय समितिमा पठाएको भन्दै आलोचना भएको थियो।

अर्कोतर्फ जोशीले आफ्नो नाम अस्वीकृत गर्दा संसदीय सनुवाई समितिले दिएका आधार र लगाएका आरोपलाई चुनौती दिँदै छानबिनको माग समेत गरेकाले संवैधानिक परिषद्को निर्णयप्रति धेरैको चासो पाइन्छ।