दीपावली: विद्युत् आपूर्ति गर्न थर्मल प्लान्ट ‘तयारी अवस्थामा’

दीपावली काठमाण्डू
तस्बिरको क्याप्शन, तिहारको तेस्रो साँझ दीपावली गरिँदा हलचोकबाट देखिएको काठमाण्डूको मनोरम दृश्य

बिजुलीको उच्च खपत हुने तिहारमा भैपरी आउने अवस्थाका लागि थर्मल प्लान्ट तयारी अवस्थामा राखिएको नेपाल विद्युत्‌ प्राधिकरणले जनाएको छ।

यद्यपि थर्मल प्लान्ट नै चलाउनुपर्ने अवस्था नदेखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

उज्यालोको पर्वका रूपमा पनि चिनिने तिहारमा प्रायशः घरघरमा झिलिमिली बत्ती बाल्ने चलन भएकोले बिजुली आपूर्ति सहज हुनुपर्ने उपभोक्ताहरूको धारणा छ।

गत वर्षको भन्दा अघिल्लो तिहारमा बिजुलीको माग धान्न नसकेको प्राधिकरणले डिजेलबाट चल्ने थर्मल प्लान्ट चलाउनुपर्ने थियो।

आपूर्ति

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार लोडशेडिङ हटिसकेकोले अहिले चाहिँ त्यस्तो अवस्था देखिएको छैन।

तर चलाउनैपर्ने अवस्था आइपरेमा थर्मल प्लान्टहरू तयारी अवस्थामा राखिएको उनले बताए।

"तिहारका लागि आवश्यक बिजुलीको व्यवस्था मिलाएका छौँ। थर्मल प्लान्टहरू तयारी अवस्थामा राखेका छौँ। त्यो चलाउनैपर्ने अवस्था नआउन सक्छ।"

पाँचदिने तिहारको तेस्रो दिन साँझपख दीपावलीका बेला बिजुलीको माग उच्च हुन्छ। त्यो बेला घरघरमा झिलिमिली बत्ती बालेर लक्ष्मीको पूजा गरिन्छ।

नेपाल विद्युत् प्राधिकरणको भवन
तस्बिरको क्याप्शन, तिहारका लागि झिलिमिली पारिएको नेपाल विद्युत् प्राधिकरणको भवन

अतः महत्त्वपूर्ण दिनमा प्राधिकरणले सहज रूपमा बिजुली आपूर्तिका लागि आवश्यक चाँजोपाजो मिलाउनुपर्ने उपभोक्ताहरूको भनाइ छ।

व्यवस्थापन

एकजना उपभोक्ता राजकुमारी दुरा भन्छिन्, "बत्ती गएन भने यो चाडलाई हामी अर्थपूर्ण बनाउन सक्छौँ। विशेषगरी तिहारमा बिजुली जानु हुँदैन, सम्पूर्ण आवश्यकता हो।"

तिहारका बेला सार्वजनिक बिदा हुने भएकोले र कलकारखानाहरू पनि बन्द रहने भएकाले माग व्यवस्थापन सहज हुने प्राधिकरणको विश्वास छ।

तर भार थेग्न नसकी प्राविधिक कारणले ठाउँ-ठाउँमा बिजुली आपूर्ति अवरुद्ध भए त्यस्तो समस्यालाई सम्बोधन गर्ने प्राधिकरणको योजना के छ त?

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भन्छन्, "कहीँ कतै आपूर्तिमा समस्या आयो भने मर्मत सम्भारका लागि हामीले प्राविधिकहरू तयारी अवस्थामा राखेका छौँ।"

काठमाण्डू झिलिमिली

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, लक्ष्मीपूजा गर्ने साँझ सबैतिर दीपावली गरिने भएकाले बिजुलीको माग उच्च हुन्छ

केही वर्षअघिसम्म प्राधिकरणले बिजुली धेरै खपत हुने भएकोले तिहारमा धेरै झिलिमिली नबाल्न आग्रह गर्ने गर्दथ्यो।

तर गत वर्षदेखि त्यो अवस्थाको अन्त्य भएपछि उपभोक्ताहरू हर्षित देखिन्छन्।