तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाकिस्तान: धर्मनिन्दाको अभियुक्तलाई रिहा गर्ने फैसलाको विरोध
पाकिस्तानस्थित एउटा अदालतले धर्मनिन्दाको अभियोगमा दोषी ठहर गरिएकी एकजना इसाई महिला विरुद्धको मृत्युदण्डको सजायको फैसला उल्ट्याइदिएको छ।
ती महिला आसिया बीबीलाई सन् २०१० मा छिमेकीहरूसँगको झगडाका क्रममा मुसलमानहरूका पवित्र धर्मगुरु पैगम्बर मुहम्मदको अपमान गरेको आरोपमा दोषी ठहर्याइएको थियो।
आसिया बीबीले सँधै आफू निर्दोष रहेको बताउँदै आएकी छन्। तर उनले विगत आठ वर्षभन्दा धेरै समय एकान्त कारावासमा बिताएकी छन्।
अदालतको उक्त फैसलापछि धर्मनिन्दा सम्बन्धी कडा कानुनहरूका पक्षधर कट्टरपन्थीहरूले हिंसात्मक विरोध प्रदर्शनहरू गरेका छन्।
विरोध प्रदर्शन
कराची, लाहोर, पेशावर र मुल्तान जस्ता शहरहरूमा सो अदालती फैसलाको विरोधमा प्रदर्शनहरू भएका छन्।
ती स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएका विवरणहरू आएका छन्।
राजधानी इस्लामावादमा सर्वोच्च अदालत रहेको रेड जोन भनिने उच्च सुरक्षा व्यवस्था रहेको क्षेत्रमा मानिसहरूको आवागमनलाई प्रहरीले बन्द गरिदिएको छ।
प्रदर्शनकारीहरूलाई अदालतबाट टाढा राख्नका लागि सुरक्षा सैन्य परिचालन गरिएको छ।
फैसला
अदालतको फैसला पढेर सुनाउँदै प्रधानन्यायाधीश साकिब निसारले भने, "अन्य कुनै मुद्दाको सिलसिलामा थुनामा राख्न आवश्यक नभए आसिया बीबी लाहोर नजिकैको सेकुपुरास्थित जेलबाट तत्काल बाहिर निस्कन सक्नेछिन्।"
उक्त फैसला सुनाइँदा आसिया बीबी अदालतमा अनुपस्थित थिइन्। तर उनले जेलबाटै आफूलाई यो पत्याउनै गाह्रो भएको भनी प्रतिक्रिया दिएकी छन्।
उनले एएफपी समाचार संस्थासँग टेलिफोनमा कुरा गर्दै भनिन्,"म सुनेको कुरा विश्वासै गर्न नसक्ने अवस्थामा छु। के अब म सांच्ची नै बाहिर निक्लिन पाउँछु? के साँच्चिकै मलाई बाहिर जान दिइन्छ?"
खास नाम आसिया नोरिन रहेकी आसिया बीबीले सन् २००९ को जुन महिनामा महिलाहरूको एक समूहसँगको विवादका क्रममा भनेका कुराहरूको आधारमा यो मुद्दा सुरु भएको थियो।
फलफूल टिप्ने क्रममा एक बाल्टिन पानीको निहुंमा तिनीहरूबीच भनाभन भएको थियो।
'अपमान'
त्यसक्रममा ती महिलाहरूले आसिया बीबीलाई इस्लाम धर्म अँगाल्न भनेका थिए।
जुन कुराको जवाफमा उनले पैगम्बर मोहम्मदको अपमान हुने तीनथरी टिप्पणी गरेको आरोप अभियोजनकर्ताहरूले लगाएका थिए।
उक्त घटनापछि आसिया बीबीमाथि उनको घरमा कुटपीट भएको र त्यसक्रममा उनले आफूले धर्मनिन्दा गरेको स्वीकारेको आरोपीहरूले बताएका थिए।
उनलाई एक प्रहरी अनुसन्धानपछि गिरफ्तार गरिएको थियो।
इस्लामबादस्थित बीबीसी संवाददाता सिकन्दर कर्मानी भन्छन्- प्रहरीको सुरक्षा घेराका माझ आसिया बिबीका वकिलले अदालतको फैसलाबाट आफू खुशी भएको बताएका छन्।
तर उनले अब आफ्नो र आसिया बीबीको सुरक्षाका सम्बन्धमा चिन्ता लागेको पनि बताएका छन्।