दुई कोरियाले ८ लाख विस्फोटक पदार्थ हटाउँदै

तस्बिर स्रोत, AFP/Getty Images
दुई कोरियाका सेनाले कडा सुरक्षा व्यवस्था हुने सीमा क्षेत्रमा जमिनमुनि बिछ्याइएका आठ लाखभन्दा बढी विस्फोटक पदार्थ हटाउन शुरू गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ।
दक्षिण कोरियाले आफ्नोतर्फ पर्ने 'संयुक्त सुरक्षा क्षेत्र' भनिने हिस्सामा जमिनमुनि बिछ्याइएका विस्फोटक पदार्थ हटाउन थालेको छ।
सो क्षेत्रमा अधिकांश सुरक्षा चौकी छन् र त्यहाँ सँधै नै सुरक्षाकर्मीको उपस्थिति रहन्छ।
कोरियाली युद्धका बेला सयौँको सङ्ख्यामा सैनिकहरू मारिएको 'एरोहेड' भनिने क्षेत्रबाट पनि जमिनमुनि बिछ्याइएका विस्फोटक पदार्थ हटाइनेछ।
महत्त्वपूर्ण
दुई कोरियाबीच विश्वासको वातावरण बनाउने दिशामा जमिनमुनि बिछ्याइएका विस्फोटक पदार्थ हटाउनु महत्त्वपूर्ण कदम हो।
दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले गत महिना प्योङयाङको भ्रमण गरेका बेला किम जङ-अन र उनीबीच जमिनमुनि बिछ्याइएका विस्फोटक पदार्थ हटाउने विषयमा सहमति भएको थियो।
गत एक दशकमा कुनै पनि दक्षिण कोरियाली राष्ट्रपतिले प्योङयाङको भ्रमण गरेको त्यो पहिलो पटक थियो।

तस्बिर स्रोत, Reuters
भ्रमणपछि मूनले 'निरस्त्रीकरणलाई पूरा गर्ने अध्यक्ष किमको प्रतिबद्धतालाई पुष्टि गराउन आफू सक्षम भएको' बताएका थिए।
किमले पनि उत्तर कोरियाको प्रमुख क्षेप्यास्त्र परीक्षण केन्द्र र प्रक्षेपण क्षेत्र बन्द गर्ने प्रतिबद्धता जनाएका छन्।
र, अमेरिकाले त्यसको बदलामा आफ्नो तर्फबाट पनि केही कदम चालेमा आफ्नो प्रमुख पारमाणविक परीक्षण स्थल पनि बन्द गर्न सक्ने किमले बताएका छन्।
निरस्त्रीकरण
केही दिनअघि मात्रै ट्रम्पले किमसँगको दोस्रो शिखर बैठक 'अब धेरै टाढा नरहेको' बताएका थिए।
राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उत्तर कोरियाली विदेशमन्त्रीले चाहिँ अमेरिकाले प्रतिबन्धहरू जारी राखेमा आफ्नो मुलुकले निरस्त्रीकरण नगर्ने चेतावनी दिएका थिए।

तस्बिर स्रोत, AFP/GETTY
गत जुनमा राष्ट्रपति डोनल्ड ट्रम्पले किमसँग ऐतिहासिक शिखर बैठक गरेका थिए, जहाँ किमले पारमाणविक निरस्त्रीकरणका लागि काम गर्ने प्रतिबद्धता जनाए।
शिखर बैठकमा भएको सहमतिमा उत्तर कोरियाले निरस्त्रीकरणका काम गर्ने उल्लेख छ।
तर त्यसका लागि समयसीमा, विस्तृत विवरण वा प्रमाणीकरण प्रक्रियाको संयन्त्रबारे केही उल्लेख गरिएको छैन।








