उत्तर कोरिया परमाणु खतराका रूपमा अब रहेन: ट्रम्प

तस्बिर स्रोत, AFP/Getty
ऐतिहासिक भनिएको वार्तापछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरिया अब परमाणु खतराको रूपमा नरहेको घोषणा गरेका हुन्।
किम जङ अनसँगको शिखर बैठकपश्चात् उनले ट्वीट गर्दै अब सबैले सुरक्षित अनुभव गर्न सक्छन् भनेका छन्।
मङ्गलवार भएको बैठकको उपलब्धीबारे कतिपय पूर्व अमेरिकी कूटनीतिज्ञहरूले आशंका व्यक्त गरेका छन्।
कैयौं कूटनीतिज्ञ तथा राष्ट्रपति ट्रम्पका विपक्षी राजनीतिज्ञहरूले उक्त बैठकमा भएको सहमतिले उत्तर कोरियाको अस्त्रभण्डार कम गराउनेबारे आशंका व्यक्त गरेपछि ट्रम्पले उक्त प्रतिक्रिया दिएका हुन्।
आशंका
खासगरी उनले दक्षिण कोरियासँग हुने गरेको संयुक्त सैन्य अभ्यास तत्कालका लागि रद्द गरिदिएपछि पूर्वी एसियामा विविध आशंका पैदा भएका थिए।

तस्बिर स्रोत, AFP
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ सोही विषयबारे छलफल गर्न हाल दक्षिण कोरियामा पुगेका छन्।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आफ्ना सहयोगी देशहरूलाई उसको सुरक्षा प्रतिबद्धताहरूमा कुनै विचलन नआउने भनी आश्वस्त पार्ने प्रयास गरिरहेको छ।
आश्चर्य
ती सैन्य अभ्यास रद्द गर्ने घोषणा गरेर ट्रम्पले उत्तर कोरियाका निम्ति ठूलो छुट दिएको तर आफ्ना क्षेत्रीय सहयोगी राष्ट्रहरूलाई आश्चर्यचकित पारिदिएको ठानिएको छ।
यसबीच उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले नेता किमले राष्ट्रपति ट्रम्पले अमेरिका भ्रमणका लागि दिएको निम्तो स्वीकारेको जनाएका छन।
साथै सम्बन्ध सुध्रिएपछि उसमाथि लगाइएका आर्थिक प्रतिबन्ध हटाइने आश्वासन समेत ट्रम्पले दिएको तिनले जनाएका छन्।








