तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
साउदी अरेबिया: महिलासँग बसेर खाना खाएका एक विदेशी पुरुष पक्राउ
एउटी महिलासँग बसेर खाना खाँदै गरेको भिडिओ ट्विटरमा भाइरल भएपछि साउदी अरेबियामा एक विदेशी नागरिक पक्राउ परेका छन्।
सो भिडिओमा पूरै मुख ढाक्नेगरी बुर्का लगाएकी महिलासँगै बसेर इजिप्टेली लवजमा कुरा गर्ने ती पुरुषलाई बिहानको खाना खाँदै गरेको देखिन्छ।
धेरैले ती महिला साउदी अरेबियाकी नागरिक भएको अनुमान गरेका छन्।
साउदी अरेबियामा कार्यस्थल र खाजाघरहरूमा महिला र अविवाहित पुरुषहरू छुट्टाछुट्टै बस्नुपर्ने कानुनी प्रावधान छ।
त्यहाँ महिलाहरूलाई परिवारका पुरुष सदस्यसँग हुँदाबाहेक अरू बेला विभिन्न गतिविधि गर्न रोक छ।
साउदी अरेबियाको श्रम र समाज विकास मन्त्रालयले ती व्यक्तिलाई विभिन्न नियमहरू उल्लङ्घन गरेको र साउदी नागरिकहरूका लागि आरक्षित ठाउँमा बसेको आरोप लगाउँदै पक्राउ गरेको हो।
ट्विटरमा सांस्कृतिक विभाजनको चर्चा गर्दै सो घटनाबारे एक लाखभन्दा बढी सन्देशहरू लेखिएका छन्।
साउदी अरेबियामा कस्तो धारणा छ?
तीस सेकेन्ड लामो भिडिओमा ती महिला र पुरुषले अरूको अनुपस्थितिमा आफूहरूले मात्रै सँगै खाना खाएकाबारे ठट्टा गरेका छन्।
तर भिडिओको अन्तिमतिर ती महिलाले पुरुषलाई खुवाएको दृश्यले विवाद सिर्जना गरेको हो।
सामाजिक सञ्जालमा धेरै साउदीहरूले उनीहरू दुवैको आलोचना गरेका छन्। अधिकांशले ती महिलालाई नभएर पुरुषलाई चाहिँ किन दण्ड दिइयो भनेर आश्चर्य प्रकट पनि गरेका छन्।
मालक नाम गरेकी ट्विटर प्रयोगकर्ताले लेखेकी छन्, "किन महिलालाई नभएर पुरुषलाई मात्रै सधैँ दण्डित गरिन्छ भन्ने म बुझ्न चाहन्छु। म साउदी [महिला] हुँ र म उनी पनि ती पुरुषसँगै दण्डित होऊन् भन्ने चाहन्छु। हाँस्नु, कार्यस्थलमा खानु... तपाईँको सीमा के हो?"
तर केहीले भने कार्यगत सम्बन्ध लिङ्गको विषयभन्दा माथि जानुपर्ने धारणा व्यक्त गरेका छन्।
तारेक आब्द अल्अजिजले सहकर्मीहरूलाई हाँसखेल गर्न, सँगै खान र अन्य सबै मानवीय व्यवहार गर्न आग्रह गरेका छन्।
तर उनको धारणासँग सबै सहमत छैनन्। हमुद अल्दुहाइअनका अनुसार विदेशीसँगै साउदी महिलालाई काम गर्न दिनु भनेको परम्परा र रीति भङ्ग गर्नु जस्तै हो।
इजिप्टमा कस्तो धारणा छ?
इजिप्टमा धेरैले साउदी अरेबियामा भएको विरोधप्रति आश्चर्य प्रकट गेरका छन्। एउटा सामान्य भिडिओका लागि किन पक्राउ गरियो भन्ने उनीहरूको प्रश्न छ।
मानिसहरूले साउदी अरेबियामा भर्खरै महिला अधिकारको विषयमा भएका प्रगति र सो घटनाका बीच असङ्गतिहरू रहेको औँल्याएका छन्। साउदी अरेबियामा गत मे महिनादेखि महिलाहरूलाई गाडी चलाउन अनुमति दिइएको छ।
टेलिभिजन कार्यक्रम प्रस्तोता ओसामा गवीशले आफू त्यस घटनाबाट अलमलमा परेको उल्लेख गरेका छन्।
उनको प्रश्न छ, "के [साउदी राजकुमार] मोहम्मद बिन सलमान साङ्गीतिक कार्यक्रम, चलचित्र भवन, समुद्री तट र सन् २०३० को दृष्टि भएको साउदी अरेबिया चाहँदैनन्?"
सोनिया नाम गरेकी ट्विटर प्रयोगकर्ताले भने सो घटनालाई साउदी पुरुषको 'कमजोर अहम्'को परिणाम भनेर अर्थ्याएकी छन्।