पोप: 'यौन दुर्व्यवहार रोक्न गिर्जाघर विफल भएकोमा पीडाबोध'

पोप

तस्बिर स्रोत, Reuters

क्याथोलिक इसाईहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले, उनकै शब्दमा, पादरीहरूले गरेका घृणित यौन दुर्व्यवहारका अपराध रोक्न क्याथोलिक गिर्जाघरले पर्याप्त काम गर्न विफल भएकोमा आफू लज्जित भएको बताएका छन्।

आयरल्याण्डका प्रधानमन्त्री लियो भराडकरले उनको देशमा आइपुगेका पोप फ्रान्सिसलाई, रोमन क्याथोलिक गिर्जाघरका सदस्यहरूबाट दुर्व्यवहारमा परेकाहरूको पीडा सुनिदिन तथा उनीहरुलाई न्याय दिलाउन आह्वान गरेका छन्।

बाल यौन दुराचार गरेका तथा त्यसको ढाकछोपमा संलग्न पादरीहरूलाई कारबाही गर्न पनि भराडकरले कडा शब्दमा एउटा चेतावनी दिएका छन्।

आयरल्याण्डको दुई दिने भ्रमणमा रहेका पोपले शानिवार अबेर बाल यौन दुर्व्यवहारको सामना गरेका पीडितहरूसँग भेट गर्ने ठानिएको छ।

दुर्व्यवहार प्रकरण

क्याथोलिक इसाईहरूका सर्वोच्च धर्मगुरु पोपले ३९ वर्षमा पहिलो पटक आयरल्याण्डको भ्रमण गर्दैछन्।

प्रत्येक तीन वर्षमा आयोजना हुने विश्वव्यापी क्याथोलिक भेलामा सहभागी हुन पोप फ्रान्सिस आयरल्याण्ड पुगेका हुन्।

तर दशकौँअघि आयरल्याण्डमा पादरीहरूबाट भएका बाल यौन दुराचारसहित त्यहाँका रोमन क्थाथोलिक संगठनहरूमा भएका विभिन्न प्रकरणहरूका कारण पोपको भ्रमण छायाँमा पर्न सक्ने ठानिएको छ।

सरकारी भवन डब्लिन क्यासलमा सम्बोधनका क्रममा, पोप फ्रान्सिसले राजनीतिज्ञहरू तथा अन्य सरकारी अधिकारीहरुलाई, बालबालिकाको संरक्षण तथा शिक्षाको जिम्मेदारी पाएका गिर्जाघरका सदस्यहरूबाट भएको दुर्व्यवहारसम्बन्धी प्रकरणबारे पनि आफूले उल्लेख गर्नुपर्ने बताए।

पीडाबोध

पोप

तस्बिर स्रोत, Reuters

उनीहरुले भोगेको पीडा आफूले बोध गरेको पनि पोपले बताए।

गत सोमबार विश्वभर रहेका करिब सवा अर्ब रोमन क्थाथोलिक इसाईहरुलाई सम्बोधन गर्दै पोप फ्रान्सिसले एउटा खुला पत्र लेखेका थिए।

सो पत्रमा पादरीहरूबाट भएका खराब कार्यहरूको गिर्जाघरबाट ढाकछोप भएको स्वीकार गर्दै उनले निन्दा गरेका थिए। तथा समस्यालाई जडबाटै उखेल्न सहयोग गर्न आह्वान पनि गरेका थिए।

विश्वभर रहेका कैयौँ गिर्जाघरहरू बाल यौनदुराचारसम्बन्धी प्रकरणमा मुछिएका छन्।