अफगानिस्तान: गज्नीमा लडाइँ जारी, 'खाद्यान्न अभाव'

गज्नी

तस्बिर स्रोत, EPA

तालिबानसँग लडाइँ चर्किँदै जाँदा अफगानिस्तानको गज्नीमा खाद्यपदार्थको अभाव हुन थालेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

आइतवार गज्नी छोडेर भागेका एक व्यक्तिले त्यहाँ जनजीवन कष्टप्रद हुँदै गएको र खानेकुरा एवम् पानीको अभाव भएको बीबीसीलाई बताएका छन्।

शुक्रवार राति चारैतिरबाट तालिबानले आक्रमण गरेपछि चर्किएको युद्धमा एक सय जनाभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ।

तीमध्ये अधिकांश सरकारी फौज र प्रहरीमा कार्यरत व्यक्तिहरू रहेका छन्।

गज्नी सहर काबुल र कान्दाहारबीच रहेको एउटा महत्त्वपूर्ण राजमार्गमा अवस्थित छ।

त्यहाँ नियन्त्रण राख्न सके तालिबानले काबुलको दक्षिण अफगानिस्तानसँगको सम्पर्क विच्छेद गरिदिनसक्छ।

यो आक्रमणले राष्ट्रपति अशरफ गनीको सरकारलाई ठाडो चुनौती दिएको छ।

अफगान सरकार र उसको नेटो साझेदारले गज्नीमा आफ्नो नियन्त्रण कायम रहेको दाबी गरे पनि प्राप्त विवरणहरूका अनुसार तालिबान लडाकुहरू स्वतन्त्र रूपमा सहरमा घुमिरहेका छन् र धेरै सरकारी भवनहरू उनीहरूको नियन्त्रणमा रहेका छन्।

टेलिफोन सेवा बन्द भएको छ र प्राप्त सूचनाहरू पुष्टि गर्न गाह्रो भएको छ।

गज्नी

स्थिति दयनीय

स्थानीय सञ्चारमाध्यमका अनुसार काबुलस्थित निर्वाचन आयोगनजिकै भएको एउटा विस्फोटनमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ। बम विस्फोट हुँदा सो स्थानमा एउटा विरोध प्रदर्शन हुँदै थियो।

सहरबाट बाहिरिएका व्यक्तिहरूका अनुसार गज्नीमा गैरसैनिकहरूका लागि स्थिति दयनीय छ।

सयवटा भन्दा बढी शवहरू अस्पताल लगिएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन्। प्रत्यक्षदर्शीहरूका अनुसार सहरका सडकमा थुप्रै शवहरू छन्।

अहिलेसम्म १४० जना भन्दा बढी घाइते भएका छन्।

"मुख्य अस्पतालमा उपचार दुर्लभ भएको छ, मानिसहरू घाइतेलाई उपचारका लागि सुरक्षित रूपमा ल्याउन सकिराखेका छैनन्," संयुक्त राष्ट्रसङ्घका मानवीय संयोजकले सोमवार एउटा विज्ञप्तमा भने।

"सहरभित्रबाट प्राप्त केही विवरणहरूका अनुसार धेरै परिवारहरू घरभित्रै बसेका छन् र बाहिर निस्किन सकेका छैनन्। दुई लाख ७० हजार मानिस बस्ने सहरमा महत्त्वपूर्ण दूरसञ्चार सञ्जाल र विद्युत्त आपूर्ति बन्द भएका छन्। त्यसले पानी आपूर्तिलाई पनि प्रभाव पारेको छ। खाद्यपदार्थ पनि घटिरहेको बताइएको छ।"

मानवीय सङ्कट

काबुलमा सोमवार एउटा विरोध प्रदर्शन आयोजना गरेका गज्नीका एक व्यक्तिका अनुसार त्यहाँ मानवीय सङ्कट उत्पन्न भएको छ।

मानिसहरूले 'गम्भीर भोक' भोगेको इनायत नसिरले बीबीसीलाई बताए।

गज्नी

तस्बिर स्रोत, Reuters

उनका अनुसार तालिबान आक्रमणको सम्भावनाबारे एक हप्ताअघि नै सरकारलाई सचेत गराइएको उनले बताए।

"यदि तपाईँहरूले परिस्थिति नियन्त्रणमा लिन नसके गज्नी एक हप्तामा ढल्छ भनेर हामीले भनेका थियौँ। र, त्यही भयो।"

केही वकिलहरूले सो क्षेत्रको बिग्रिँदो स्थितबारे दिइएका चेतावनीलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।

आइतवार राष्ट्रपति गनीले गज्नीमा थप फौज पठाउने बताएका थिए। अमेरिकी नेतृत्वको नेटो फौजले सोमवार १० वटा हवाई आक्रमण गरेको छ।

तालिबानले गैरसैनिकहरूलाई कवचका रूपमा प्रयोग गरेको आरोप नेटोले लगाएको छ।

यसैबीच गज्नी प्रान्तको पूर्वमा रहेको अज्रिस्तान जिल्लामा अफगान सेनाका एक सय कमान्डोहरू हराइरहेका बताइएको छ। तर सरकारी अधिकारीहरूले ती विवरणको खण्डन गरेका छन्।

गज्नी

तस्बिर स्रोत, AFP

तालिबानलाई सरकारसँग शान्तिवार्तामा बस्न दबाव बढ्दै गर्दा गज्नीमा लडाइँ र अरू स्थानमा आक्रमण भएका छन्।

इदमा गरिएको तीनदेनि युद्धविरामपछि गत जुन महिनामा तालिबान र अमेरिकी अधिकारीहरूबीच कतारमा एउटा गोप्य भेटघाट भएको थियो।

सन् २००१ मा अमेरिकी नेतृत्वको सैन्यले तालिबानलाई सत्ताबाट धपाएपछि भएका लडाइँमा दशौँ हजार अफगानको ज्यान गइसकेको छ।

विगतमा गरिएका शान्तिवार्ता तथा युद्धविरामका प्रस्तावहरू खासै उपलब्धिपूर्ण भएका थिएनन्।

उद्देश्य

अफगानिस्तानलाई सघाउन खटिएका विदेशी सेनाहरूले सन् २०१४ मा अफगानिस्तान छाडेका थिए।

त्यसपछि तालिबानले देशभरि आफ्नो प्रभावक्षेत्र विस्तार गर्ने उद्देश्य राखेको देखिन्छ।

विगतमा आफ्नो नियन्त्रणबाट खोसिएका क्षेत्रहरू पुन: कब्जा गर्ने प्रयास तालिबान लडाकुहरूले गरिरहेका छन्।

सात महिनाअघि प्रकाशित बीबीसीको अध्ययनअनुसार अफगानिस्तानको ७० प्रतिशत भूभागमा तालिबान विद्रोहीको सक्रिय उपस्थिति छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगानिस्तानमा चर्कंदो हिंसा