अफगानिस्तान: फेरि तालिबान आक्रमण, ३० लडाकु मारिए

अफगानिस्तान

तस्बिर स्रोत, AFP

तालिबानले अफगानिस्तानको राजधानी काबुल र कान्दाहार जोड्ने महत्त्वपूर्ण राजमार्गमा पर्ने गज्नी सहरमा एउटा ठूलो आक्रमण गरेको छ।

बिहीवार राति तालिबान लडाकुहरूले गज्नीका केही भागहरू आफ्नो नियन्त्रणमा लिएका अधिकारीहरूले बताएका छन्। तर पछि उनीहरूलाई धपाइयो।

प्रान्तीय सरकारका अनुसार सो आक्रमणमा ३० तालिबान लडाकु र एक सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ।

धेरै घरहरू क्षतिग्रस्त भएकाले हताहत हुनेहरूको सङ्ख्या बढ्नसक्ने देखिएको छ।

प्रान्तीय सरकारका प्रवक्ता मोहम्मद आरिफ नूर गज्नीले बीबीसीलाई बताएअनुसार रातिको घटनामा कम्तीमा पनि आठ गैरसैनिक र सात सरकारी सुरक्षाकर्मीहरू घाइते भएका छन्।

गज्नीमा अहिले विशेष सुरक्षा फौज खटाइएको छ। केही स्थानमा आक्कलझुक्कल गोली चलेको सुनिन्छ।

केही वर्षयता कुनै प्रान्तीय सदरमुकाममा तालिबानले आक्रमण एवम् प्रवेश गरेको यो चौथो पटक हो।

अफगानिस्तान

सयौँ लडाकुहरू सो आक्रमणमा संलग्न रहेका र प्रहरी मुख्यालयसमेत सरकारी भवनहरू नियन्त्रणमा लिइएको दाबी यसअघि तालिबानले गरेको थियो।

"हामी एकदमै तर्सियौँ। सहरमा र वरिपरि जहाँ पनि तालिबानहरू घुम्दैछन्," स्थानीय पसले मोहम्मद हलीमले समाचार संस्था एएफपीलाई बताए।

आक्रमणको शृङ्खला

केही महिनाअघि तालिबान लडाकुहरूले छोटो समयका लागि पश्चिमी नगर फराह आफ्नो नियन्त्रणमा लिएको थियो। सन् २०१५ र २०१६ मा लामै समय उनीहरूले उत्तरमा रहेको कुन्डुज आफ्नो नियन्त्रणमा राखे।

अमेरिकी सेनाको एउटा सहयोग अभियानले तालिबानलाई गज्नीबाट लखेट्न हेलिकप्टरहरू र एउटा ड्रोन परिचालन गरिएको बताएको छ। गज्नीमा डेढ लाख मानिसहरू बसोबास गर्छन्।

यो आक्रमण भूभाग आफ्नो अधीनमा पार्ने तालिबानको अर्को असफल प्रयास भएको टिप्पणी एक अधिकारीले गरेका छन्।

काबुल र गज्नी जोड्दै दक्षिण जाने राजमार्ग शुक्रवार बन्द गरिएको छ।

सरकारसँग शान्तिवार्तामा बस्न तालिबानलाई दबाव परेका बेला यो आक्रमण भएको छ।

अफगानिस्तान

तस्बिर स्रोत, EPA

इदमा गरिएको तीनदेनि युद्धविरामपछि गत जुन महिनामा तालिबान र अमेरिकी अधिकारीहरूबीच कतारमा एउटा गोप्य भेटघाट भएको थियो।

सन् २००१ मा अमेरिकी नेतृत्वको सैन्यले तालिबानलाई सत्ताबाट धपाएपछि भएका लडाइँमा दशौँ हजार अफगानको ज्यान गइसकेको छ।

विगतमा गरिएका शान्तिवार्ता तथा युद्धविरामका प्रस्तावहरू खासै उपलब्धिपूर्ण भएका थिएनन्।

उद्देश्य

अफगानिस्तानलाई सघाउन खटिएका विदेशी सेनाहरूले सन् २०१४ मा अफगानिस्तान छाडेका थिए।

त्यसपछि तालिबानले देशभरि आफ्नो प्रभावक्षेत्र विस्तार गर्ने उद्देश्य राखेको देखिन्छ।

विगतमा आफ्नो नियन्त्रणबाट खोसिएका क्षेत्रहरू पुन: कब्जा गर्ने प्रयास तालिबान लडाकुहरूले गरिरहेका छन्।

सात महिनाअघि प्रकाशित बीबीसीको अध्ययनअनुसार अफगानिस्तानको ७० प्रतिशत भूभागमा तालिबान विद्रोहीको सक्रिय उपस्थिति छ।