अफगानिस्तान: सरकारद्वारा तालिबानसँग अस्थायी युद्धविराम

अफगान फौज

तस्बिर स्रोत, EPA

अफगानिस्तानको सरकारले तालिबान विद्रोहीसँग अस्थायी युद्धविराम गर्ने तर अन्य समूहसँगको लडाइँ जारी राख्ने घोषणा गरेको छ।

राष्ट्रपति अशरफ गनीले एक साता लामो युद्धविराम इदको पर्वसँग पर्ने गरी गरिएको बताएका छन्।

तर तालिबान समूहले भने कुनै प्रतिक्रिया दिइसकेको छैन। गत साता उनीहरूले अफगान अधिकारीहरूसँग गोप्य वार्ता भइरहेको समाचारको पनि खण्डन गरेका थिए।

तालिबानसँग मात्र

सन् २००१ मा अमेरिका नेतृत्वको फौजले तालिबानलाई सत्ताबाट धपाए यता भएका लडाइँमा दशौँ हजार अफगानको ज्यान गइसकेको छ।

विगतमा गरिएका शान्तिवार्ता तथा युद्धविरामका प्रस्तावहरू खासै उपलब्धिपूर्ण भएका थिएनन्।

यो साताको सुरुमा धार्मिक नेताहरूको एक महत्त्वपूर्ण भेलाले विद्रोही हिंसालाई इस्लामविरोधी भन्दै फतवा जारी गरेको थियो। त्यतिखेर उक्त भेलालाई निशाना गर्दै इस्लामिक स्टेट समूह आइएसले आत्मघाती हमला गरेको थियो।

राष्ट्रपति गनीले उनको सरकारले सो भेलाको निर्णयलाई समर्थन गरेको बताएका छन्। अफगान जनता द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने चाहन्छन् भन्ने उनको भनाइ छ।

सरकारले घोषणा गरेको युद्धविराम अर्को साता लागु हुनेछ।

अफगानिस्तान

तस्बिर स्रोत, .

उनले सशस्त्र अफगान तालीबानको आक्रामक कारबाही मात्र सरकारी फौजले रोक्ने बताए। तर आईएस तथा विदेशीले समर्थन गरेका अन्य आतङ्कवादी समूहविरुद्धका कारबाही जारी रहने उनले बताए।

उनले युद्धविराम तालीबानलाई आफ्नो हिंसात्तमक अभियानलाई समीक्षा गर्ने एक अवसर समेत भएको बताए।

घातक

फेब्रुअरी महिनामा उनले नि:शर्त वार्ताका निम्ति तालिबानलाई आह्वान गरेका थिए। तालिबानले विधिको शासनको सम्मान गरे तिनलाई वैध राजनीतिक समूहको मान्यता दिइने उनले जनाएका थिए।

तर त्यसयता हिंसामा कमी आएको छैन। पछिल्ला महिनाहरूमा शृङ्खलाबद्ध रूपमा घातक विद्रोही हमलाहरू गरिएका छन्।

विदेशी लडाकु फौजले सन् २०१४ मा अफगानिस्तान छाडेका थिए। त्यसयता लगातार तालिबानले देशभरि आफ्नो प्रभावक्षेत्र विस्तार गरिरहेको छ।

विगतमा उनीहरूको नियन्त्रणबाट खोसिएका इलाकाहरू अहिले पुन: उनीहरूको कब्जामा पुगेका छन्।

जनवरीमा प्रकाशित बीबीसीको अध्ययनअनुसार अफगानिस्तानको ७० प्रतिशत भूभागमा तालिबान विद्रोहीको सक्रिय उपस्थिति छ।