तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'ब्लफ कल' गरेर यसरी फसाएको थियो दलालले महिलालाई
- Author, विष्णु पोखरेल
- Role, सम्वाददाता, बीबीसी नेपाली
पश्चिम नेपालकी ३२ वर्षीया सीतादेवी (नाम परिवर्तन) लाई केही महिनाअघि एउटा नयाँ नम्बरबाट फोन आयो।
उनले 'हेलो' भन्न नपाई फोनमा बोल्ने पुरुषले सन्चो बिसन्चो सोध्न थाले। बोली नचिनेपछि ती विवाहित महिलाले ब्लफ कल होला भन्ठानेर 'रङ नम्बर' भन्दै फोन राखिदिइन्।
तर ती अपरिचित पुरुषले उनलाई पटकपटक फोन गरिराखे। त्यसपछि उनीहरूबीच कुराकानी हुनथाल्यो।
ब्लफ कलबाट चिनापर्ची भएका ती पुरुषसँग उनको हिमचिम बढ्यो।
पहिले विदेश गएर पैसा कमाएर ल्याएको बताउने उनले सीतादेवीलाई दुई लाख रुपैयाँ जोहो गरे कुवेतमा राम्रो काममा पठाइदिने बताए।
गाउँमा सामान्य खेतीपाती गरेर जीवन निर्वाह गर्दै आएकी उनले ती अपरिचित पुरुषलाई सजिलै विश्वास गरिन्।
कुवेत जाने लोभमा असार २३ गते भारत पुगेपछि बल्ल उनले सो व्यक्ति दलाल रहेको र उसले आफूलाई 'बेचेको' मेसो पाइन्।
ऋण
उनी भन्छिन्, "महिनाको ९० दिनार (करिब ३२ हजार रुपैयाँ) कमाउने लोभमा परेर म र अर्की एउटी साथीले राहदानी बनायौँ।"
श्रीमान् र अरू कसैलाई थाहै नदिई चर्को ब्याजमा दुई लाख ऋण लिएर ती व्यक्तिलाई दिइन्।
उनी भन्छिन्, "पैसा दिएपछि उसले 'कसैलाई नभनी नेपालगन्ज आउनू' भनेर बोलायो। हामीले पनि काठमाण्डूबाटै जाने होला भन्ने ठानेर नेपालगन्ज गयौँ।"
तर नेपालगन्ज पुगेपछि उनीहरूलाई 'काठमाण्डूबाट नमिल्ने भयो, दिल्लीबाट उडाउने हो' भनेर रुपेडिया हुँदै भारततिर लगियो।
दिल्लीको साटो बनारस पुर्याएर फोनमा साथी बनेका ती व्यक्ति सम्पर्कविहीन भए।
बेचबिखन
सीतादेवीका अनुसार उनलाई बनारसमा राखिएको घरमा धेरै नेपाली महिलाहरू थिए।
उनी भन्छिन्, "एउटा सुन्दरी दिदी भन्ने थिइन्, तिनैले उसले हामीलाई बेचेर गएको बताइन्।"
आफू बेचिएको थाहा पाएपछि आफूसँग फेर्ने लुगा पनि नभएको भन्दै बाहिर निस्कन खोजिन्। तर उनलाई बाहिर जान दिइएन।
तर जसोतसो नेपालमा आफ्ना श्रीमान्लाई फोन गर्न भने उनी सफल भइन्।
उजुरी
त्यति बेलासम्म श्रीमान्ले पनि नेपालमा प्रहरीलाई खबर गरिसकेका रहेछन्।
नेपाल फोन गरेको थाहा पाएपछि 'सुन्दरी दिदी'ले केही युवाहरूसँग आफूलाई नेपाल फिर्ता पठाइदिएको उनी बताउँछिन्।
उनी भन्छिन् - 'यसले नेपालमा फोन गरिसकिछ। अब हामी फस्छौँ, अरू केटी पनि छुट्न सक्छन्' भन्दै हामीलाई नेपाल फर्काइदिइएको हो।'
नेपाल फर्केपछि सीतादेवी र उनकी साथी दुवैले स्थानीय प्रशासनमा सो व्यक्तिविरुद्ध प्रहरीमा उजुरी हाले।
अरूको उद्धार गर्न पहल
त्यही उजुरीका आधारमा केही नेपाली सरकारी अधिकारीहरू सहितको टोली अन्य नेपाली महिलाको खोजी गर्दै बनारस पुग्यो।
त्यसका लागि भारतस्थित नेपाली दूतावासले पनि सहयोग गरेको दूतावासका प्रवक्ता हरिप्रसाद ओडारीले बीबीसीलाई बताए।
सीतादेवीले दिएको सूचनाकै आधारमा बनारसको सो स्थानमा भारतीय प्रहरीले छापा मारेको थियो।
ओडारी भन्छन्, "तर त्यहाँबाट सबै महिलालाई अन्यत्रै लगिसकिएको रहेछ।"
उनका अनुसार ती घरहरूमा महिलाहरूलाई राखिएका प्रमाण भेटिएपछि घरधनीहरूलाई भने भारतीय प्रहरीले पक्राउ गरेको छ।
दिल्लीको घटना
गत मङ्गलवार राति भारतको नयाँ दिल्लीबाट कुवेत र इराक पठाउन भन्दै सीतादेवीलाई जस्तै अलपत्र पारिएका १६ नेपाली महिलालाई दिल्ली महिला आयोगको सक्रियतामा उद्धार गरिएको छ।
नेपाली दूतावासका अधिकारीहरूले बनारसबाट भगाइएका मध्येकै महिलालाई दिल्लीमा उद्धार गरिएको हो कि भन्ने शङ्का गरेका थिए।
तर उनीहरू अर्कै दलालमार्फत् त्यहाँ पुर्याइएका हुनसक्ने उद्धारमा संलग्न एक नेपाली अधिकारीले बताए।