तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सहरी क्षेत्र डुबानमा पर्ने चार कारण
बिहीवारदेखिको मनसुनी वर्षाले तराईमा बाढी र पहाडमा पहिरोको जोखिम ल्याएको छ।
काठमाण्डू उपत्यकाका नदी किनारका केही वस्तीहरू भने डुबानमा परेका छन्।
गएका केही वर्षदेखि थोरै पानी पर्दाखेरि नै सहरी क्षेत्रहरूमा डुबानको समस्या देखिन थालेको छ।
विज्ञहरूका अनुसार यी चार कारणले सहरी क्षेत्रहरू डुबानमा पर्न थालेका हुन्:
१) साँघुरिएका नदी र खोल्सा
काठमाण्डू उपत्यकाका नदीहरू अहिले फोहोर फाल्ने ठाउँ भएका छन्।
निर्माण सकेपछि बाँकी रहने कङ्क्रिट, प्लास्टिक र अनेक थरी फोहोरले खोलाको गहिराइ घटाइदिएका छन्।
त्यसमाथि किनारमा अतिक्रमण गरेर बनाइएका भवनहरूले नदी र खोल्साहरू साँघुरा भएका छन्।
पानीको मात्रा बढ्दा त्यसले आफूलाई चाहिनेजति स्थान पाउँदैन र नजिकै ठाउँ डुबानमा पर्छन्।
२) होचा पुलहरू
स्थानीय समितिहरूकै पहलमा थोरै बजेटमा खोला र खोल्साहरूमा थुप्रै ससाना पुलहरू निर्माण भएका छन्।
पुलहरूका कारण अड्किएको ठोस फोहोरले पानीको बहाव बस्तीतिर मोडिदिन्छ।
३) कङ्क्रिटको सतह
घरका पक्की आँगनदेखि प्लटिङ गरिएका क्षेत्र र तीनमा लहरै बन्ने घरले खेतीयोग्य र खुल्ला जमिन घटेको छ।
भूमिको सतहले पानी सोस्न समेत निकै कम भएको छ।
त्यसो हुँदा पानी गहिरो ठाउँमा जम्मा हुने वा बगेर खोल्सा, खोला वा नदीमा पुग्छ।
अनि नदी किनाराका क्षेत्र डुबानमा पर्नु सामान्य नै हुन्छ।
४) थुनिएका ढलका नाली
नकुहिने ठोस फोहोरलाई घरमै छान्ने काम नहुँदा प्लास्टिकजन्य फोहोरहरूले ढल निकास अवरूद्ध पार्छन् ।
बालुवा र गेगर बगेर ढलभित्र छिर्दा पनि पानीको निकास अवरुद्ध हुन्छ ।
यिनै कारणले कम वर्षा हुँदा पनि सहरी क्षेत्रहरूमा डुबानको समस्या देखिन्छ।