थाई गुफा: चार बालकहरूको सकुशल उद्धार

उत्तरी थाईल्यान्डको गुफामा दुई सातादेखि फसेका बालकहरूमध्ये चार जनाको सकुशल उद्धार गरिएको छ।

९० जना गोताखोरहरू सहभागी उद्धार टोलीले बाहिर ल्याएका बालकहरूलाई अस्पताल पुर्‍याइएको छ।

पानीको भेल कम भएको बेला थालिएको उद्धारकार्य पहिले सोचेभन्दा छिटो अघि बढिरहेको छ।

गुफा नजिकै रहेका बीबीसीका ड्यान जनसन भन्छन्, "चार जनालाई गुफा बाहिर ल्याइएको छ र अहिले रात परिसकेकोले उद्धार कार्य रोकिएको छ। बाँकी बालकहरू गुफा भित्रै रहेको बुझिएको छ। चार जनालाई सफलतापूर्वक बाहिर ल्याएका छन् र यो महत्त्वपूर्ण उपलब्धि हो।"

अक्सिजन ट्याङ्क र अनुहार छोप्ने मास्कजस्ता उपकरण प्रयोग गरिएको उद्धार प्रयास निकै जटील र लामो हुन सक्ने ठानिएको थियो। तर पछिल्लो सफलताले त्यो सोचेजति लामो नहुने देखिएको छ।

अब १० घन्टासम्म उद्धारकर्ताहरूले आराम गर्ने र त्यसपछि गुफा भित्र रहेका बाँकी रहेकाहरूलाई बाहिर ल्याउने योजना बनाइएको छ।

उद्धार कार्यमा थाईल्याण्डका र अन्तर्राष्ट्रिय गोताखोरहरूको टोली खटिएको छ।

आगामी दिनमा गुफामा पानीको सतह बढ्ने खतराका कारण जोखिम भए पनि उद्धारकर्ताहरूले उद्धारकार्य सुरु गरिहालेका थिए।

उद्धारकार्य पूरै सकिन कति समय लाग्छ भन्ने प्रष्ट छैन।