मेस्सीको बहिर्गमनसँगै अर्का खेलाडीको ‘उदय’

लियोनेल मेसी र किलियान एमबापे

तस्बिर स्रोत, Getty Images

विश्वको अब्बल र मुटुको धड्कन नै रोकिदिने खालको एउटा रोमाञ्चक खेलपछि जब लियोनेल मेसीले किलियान एमबापेलाई अङ्कमाल गरे त्यो अविस्मरणीय क्षणले एकजना खेलाडीबाट अर्को खेलाडीमा महानता स्थानान्तरण भइरहेको संकेत दिएको थियो।

कजान एरिनामा आर्जेन्टिना र फ्रान्सबीचको उक्त खेल हेरेका सबैजना तरङ्गित हुँदै रंगशालाबाट बाहिरिएका थिए।

उनीहरूलाई थाहा थियो कि वर्षौँसम्म सम्झना भइरहने एउटा नकआउट चरणको विशेष खेल हेर्ने अवसर उनीहरूले पाएका थिए।

र, एकजना खेलाडीले त्यस समयमा सबैको ध्यान आफूतिर तानेका थिए।

उजागर

एमबापे १९ वर्षका मात्रै छन्। तर उनले दुई गोल गरे।

त्यति मात्रै होइन मैदानको आफ्नो भागतिरबाट विपक्षीतर्फ दौडेका उनले बल अघि बढाइरहँदा फ्रान्सले पेनाल्टीको अवसर पाएर आर्जेन्टिनाविरुद्ध पहिलो गोल गर्‍यो।

उनको उत्कृष्ट प्रदर्शनकै कारण फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

एमबापे

तस्बिर स्रोत, AFP/Getty Images

उक्त खेलमा फ्रान्सले मन्त्रमुग्ध पार्ने खेल देखाएको थियो जसले रुस विश्वकपको फाइनलसम्म पुग्नसक्ने उसको वास्तविक सम्भावनालाई उजागर समेत गरिदिएको छ।

दोस्रो पटक विश्वकपको उपाधि जित्ने सुरमा यसपटक फ्रान्स रहेको छ।

एमबापे -सबै कुशलता भएका स्ट्राइकर

सन् १९९८ मा घरेलु मैदानमा पहिलो पटक फ्रान्सले विश्वकप फुटबलको उपाधि जित्दा एमबापे जन्मिएका पनि थिएनन्।

त्यो विश्वकप अन्तर्गत ३० जुन १९९८ मा इङ्ग्याल्याण्डका स्ट्राइकर माइकल ओवेनले आर्जेन्टिनाको रक्षापङ्क्ति छलाउँदै एउटा उत्कृष्ट गोल गरेका थिए।

काजनमा ठ्याक्कै २० वर्षपछि एमबापेले ओवेनकै शैलीमा आक्रामक खेल देखाए।

सन् १९९८ को डिसेम्बर २० मा जन्मिएका एमबापे अहिले प्राविधिक रुपमा मोनाकोबाट सापटमा आएर पेरिस सेन्ट जर्मनबाट खेलिरहेका छन्।

फ्रेन्च फुटबल च्याम्पियन उक्त क्लबमा उनी १८० मिलियन युरोमा आबद्ध हुन लागेका छन्।

त्यो रकम अहिलेसम्म कुनै पनि फुटबल खेलाडीले पाएको दोस्रो बढी मूल्य हो।

सिपालु

पीएसजीले ब्राजिलका अग्रपङ्क्तिका खेलाडी नेमारलाई सन् २०१७ मा २०० मिलियन युरो तिरेर अनुबन्धित गरेको थियो।

एमबापेसँग तीव्र गतिमा दौड्ने क्षमता मात्रै होइन्। उत्कृष्ट कौशल, चाँडै सोच्न सक्ने क्षमता, दुईवटा चतुर पैतालाहरू, एउटा ठन्डा दिमाग, बहादुरी, विश्वास र गोल देख्न सक्ने सिपालु नजर छन्।

उनको दुई गोल एकदमै आक्रामक र शक्तिशाली थिए।

इङ्ग्ल्याणका पूर्वकप्तान एलान सिएरर भन्छन्, "मैदानको बीचबाट अगाडि खेल्ने खेलाडीको त्यो अभूतपूर्व प्रदर्शन रहेको थियो। गति, गोल, निशाना र प्रविधि सबैमा उनी अब्बल देखिए।"

लियोनेल मेसी र किलियान एमबापे

तस्बिर स्रोत, Getty Images

"१९ वर्षको उमेरमा,১ लाखौँ मानिसले हेरिरहेको खेल र त्यसमा पनि मेस्सी जस्ता विपक्षीविरुद्ध त्यस्तो खेल देखाउनसक्नु साँच्चै नै अभूतपूर्व हो।"

एमबापे प्यारिसको बाहिरी क्षेत्रमा जन्मिएका हुन् र उनले अन्तर्राष्ट्रिय फुटबलमा अघिल्लो वर्षमात्रै मौका पाएका हुन्।

उपलब्धि

सन् २०१६-२०१७ मा मोनाकोबाट क्लब खेल शुरू गरेयता उनले निरन्तर सफलता चुमिरहेका छन्।

उनले ४४ खेलमा २६ गोल गरेका छन् र उक्त क्लबलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्‍याउन र लिग वान जिताउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।

फ्रान्सविरूद्धको खेलमा आर्जेन्टिनाले लय समाउन लागिरहँदा उनले गरेका दुई गोलले त्यसलाई रोकिदिएको थियो र त्यहीँ बेला विश्वसामु उनको तीक्ष्ण क्षमता उजागर भएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, विश्वकप हेर्न जान नपाएर ख्याति

सन् १९५८ मा विश्व फुटबलका महान् खेलाडी ब्राजिलका पेलेले १७ वर्षको उमेरमा स्वीडनविरुद्धको फाइनल खेलमा दुई गोल गरेका थिए।

त्यसयता कुनै पनि किशोर खेलाडीले विश्वकपको एउटा खेलमा दुई गोल गरेका छैनन्।

"मलाई औधी खुशी लागेको छ। तर पेले जस्ता महान खेलाडीसँग मेरो तुलना हुनु चाहिनेभन्दा बढी प्रंशसा हो, उनी अलग्गै समूहका खेलाडी हुन्। तर पनि त्यस्तो उपलब्धि हासिल भएका खेलाडीसँग जोडिन पाउनु गर्वको कुरा हो," एमबापेले फ्रान्सको विजयपछि प्रतिक्रिया दिँदै भनेका छन्।