विश्वकप २०१८: पहिलो चरणमा को नायक भए, को खलपात्र?

तस्बिर स्रोत, Getty Images
- Author, फेर्नान्डो डुआर्टे
- Role, बीबीसी विश्व सेवा, मस्को
विश्वकप २०१८ मा समूह चरणको प्रतिस्पर्धा सकिँदा समग्र प्रतियोगिताकै दुईतिहाइभन्दा बढी खेलहरू सम्पन्न भइसकेका छन्।
फुटबलप्रेमीलाई कुल ६४ मध्ये ४८ खेलहरू सकिएको भेउ पाउँदा दु:ख लाग्न पनि सक्छ। तर सुखद कुरो के भने बाँकी खेलहरू अतिमहत्त्वपूर्ण छन्। समूह चरणकै जस्तो आश्चर्य, कीर्तिमान र रोमाञ्च दोहोरिने हुन् भने बाँकी खेल अविस्मरणीय बन्न सक्छन्।
प्रतियोगिताको मध्यान्तरमा हालसम्मका उल्लेखनीय पक्षहरू के हुन् त?
जापानको 'राम्रो व्यवहार' पुरस्कृत
समूह चरणमा दुई टोलीको समान अङ्क भई माथिल्लो चरणमा को जाने भनेर मैदानबाटै निर्णय गर्न नसकिने अवस्था आएमा पहेँलो कार्डलाई एउटा आधार बनाइने प्रचलन विश्वकप २०१८ मा स्थापित गरियो।
समूह 'एच' मा रहेको जापानलाई यसबाट लाभ भयो। सेनेगल प्रतियोगिताबाट बाहिरियो भने जापानले दोस्रो चरणमा प्रवेश पायो।
जापानले कोलम्बियालाई २-० पराजित गरेको थियो भने सेनेगलसँग २-२ गोलको बराबरी गरेको थियो। तर पोलन्डले १-० गोलले हराउँदा भने झन्डै सो एसियाली टोली बाहिरिएको थियो।
अब प्रतियोगिताकै दाबेदार मानिएको बेल्जियमसँग आइतवार खेल्दा जापान कस्तो रूपमा आउला?

तस्बिर स्रोत, Getty Images
युरुग्वे, बेल्जियम र क्रोएशियाको जित
३२ टोलीमध्ये जम्मा तीनवटाले समूह चरणका सबै खेल जिते। दोस्रो चरणमा सहभागी हुने अन्य टोलीमध्ये धेरैले उत्कृष्ट कीर्तिमान भएका ती तीन टोलीसँग प्रतिस्पर्धा गर्ने इच्छा राख्दैनन्।
आफ्नो घरेलु लिगमा सहभागी खेलाडीहरू सम्मिलित बेल्जियमको टोलीले नौ गोल अर्थात् यो प्रतियोगिताकै सबैभन्दा धेरै गोल गरेको छ। यसरी उसले प्रतियोगितामा माथिसम्मको यात्रामा जाने अपेक्षालाई बल पुर्याएको छ।
यदि उपाधि नै जित्यो भने बेल्जियमले युरुग्वेको विश्वकप जित्ने सबैभन्दा सानो राष्ट्र भएको कीर्तिमान भङ्ग गर्नेछ। तर आयोजक राष्ट्रलाई ३-० ले हराउँदै समूह 'ए' का सबै खेल जितेर आएका लुई सुवारेज र उनको टोली उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।
आर्जेन्टिना, नाइजिरिया र आइस्ल्यान्ड सम्मिलित समूह विजेता बनेर क्रोएशियाले आश्चर्यचकित पारेको छ।

तस्बिर स्रोत, Getty Images
दक्षिण अमेरिकी 'आक्रमण'
प्रतियोगितामा पाँच दक्षिण अमेरिकी टोली सहभागी थिए। तीमध्ये चारवटा समूह चरणका खेलमा जोगिएर दोस्रो चरणमा पुगेका छन्।
ब्राजिल, कोलम्बिया, आर्जेन्टिना र युरुग्वेको दोस्रो चरणमा भेट नहुने भएकाले क्वार्टर फाइनलमा पुग्ने टोलीमध्ये सम्भवत: उनीहरूको सङ्ख्या आधा हुनेछ।
फिफाले विश्वकपमा महादेशीय स्थान र सहभागी टोलीको सङ्ख्या विस्तार गरेर ४८ वटा बनाउने विषयमा छलफल गरिराखेका बेला उनीहरूले एउटा राम्रो सन्देश दिएका छन्।
दोस्रो चरणमा नपुगे पनि पेरू समूह 'सी'मा अस्ट्रेलियाभन्दा माथि रह्यो।
सन् १९८२ देखि पेरू प्रतियोगितामा सहभागी हुन पाएको थिएन भने अस्ट्रेलियाले यसअघिका दुईसमेत गरेर तीनवटा विश्वकप खेलिसकेको छ।

गोलको वर्षा
फिफाका अनुसार समूह चरणका ४८ वटा खेलमा कुल १२२ गोल भएका छन्। त्यसको मतलब प्रति खेल २.५४ गोल भएका छन्। फलस्वरूप रुस २०१८ सबैभन्दा बढी गोल भएको विश्वकप हुन पुगेको छ।
खेल प्रशंसकहरूले अबका चरणका खेलहरूमा पनि त्यति नै धेरै गोल हुन् भन्ने आशा व्यक्त गरिरहेका छन्।

तस्बिर स्रोत, Getty Images
रुस पछाडि पर्यो
सुरुका दुई खेलमा रुसको जितले उसका प्रशंसकहरूलाई निकै खुसी बनायो।
उनीहरूले खेल मैदानका सबैभन्दा धेरै दूरी पार गरेको खुलासा पनि भयो।
हालै रुसी एथलेटिक्स् खेलाडीहरूले प्रतिबन्धित औषधि सेवन गरेको प्रकरण सबैले बिर्सिसकेका छैनन्।
तर विश्वकपका समूहचरणका खेलपछि रुस पछाडि परेका विवरण बाहिर आयो।
खेल मैदानमा सबैभन्दा धेरै दूरी पार गर्ने हिसाब गर्दा पछि सर्बियाले सबैभन्दा लामो दूरी पार गरेको खुलासा भयो।
त्यो टोलीले ३३९ किलोमिटर पार गरेको पाइयो।
त्यसपछि पूर्व विजेता जर्मनीले ३३५ किलोमिटर पार गरेको बताइएको छ।
अलबिदा अफ्रिका
सन् १९८२ पछि पहिलोपटक कुनै पनि अफ्रिकी टोलीले विश्वकपको नक आउट चरणमा खेल्ने छैन।
सेनेगल, नाइजेरिया, मोरक्को, ट्युनिसिया र इजिप्टले अब बाँकी खेलहरू टेलिभिजनमा हर्नेछन्।
सबैभन्दा पीडा शायद सेनेगलका प्रशंसकहरूलाई हुनसक्छ किनभने सेनेगल कमजोर अनुशासनका कारण पछाडि परेको हो।
यो अफ्रिकी अधिकारीहरूले कहाँनेर कमजोरी भयो भनेर समीक्षा गर्ने बेला हो।

तस्बिर स्रोत, Getty Images
खेल बिगारेका जर्मनहरू
जर्मनीलाई यसपालि विश्वकप नफापेको प्रष्ट भएको छ।
अघिल्लो पटकको विजेता भएर पनि जर्मन टोली सुरुवाती खेलबाट अघि बढ्न नसक्ने एक्काइसौँ शताब्दीका थोरै टोलीहरू मध्ये एक हुन पुगेको छ।
अवकाश लिएका फिलिप लाह्म, बास्टियन श्वाइन्टेइगर र पेर मेर्टेस्याकर जस्ता प्रतिभाशाली खेलाडीको सही प्रतिस्थान गर्न नसक्नु जर्मनीको कमजोरी देखियो।
गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्नु उसको अर्को कमजोरी देखियो।
फिफाको आँकडा अनुसार जर्मनी सामु गोल गर्ने सबैभन्दा धेरै अवसर (७५) प्राप्त भएका थिए।
तर जर्मन टोली मात्र तीन गोल गर्न सफल भयो र उसले चार गोल खान पुग्यो।

तस्बिर स्रोत, Getty Images
कडा दक्षिण कोरिया
दक्षिण कोरिया रुस विश्वकपको समूह चरणबाट अघि बढ्न विफल भयो। तर छोड्नुअघि उसले जर्मनी विरुद्ध ऐतिहासिक जित निकाल्न सफल भयो। समूह चरणमा दक्षिण कोरियाले त्यति ख्याति कमाउन सकेन।
ऊ सबैभन्दा धेरै फल गर्ने टोली साबित भयो। दक्षिण कोरियालीहरूले मोरक्को (६२) भन्दा बढी (६३) फल गरे।
तुलनात्मक रूपमा दक्षिण कोरियाको छिमेकी जापानले सबैभन्दा कम (२८) फल गरेको थियो।
त्यसैकारण जापानलाई राम्रो खेल खेलेको भन्दै अर्को चरणमा प्रवेश गर्न दिइयो।
के ब्राजिल, क्रोएसिया वा युरुग्वे फाइनलमा पुगिसके? 'इन्टर रुल'ले त्यसै भन्छ
यदि तपाईँ एउटा अनौठो तथ्याङ्कलाई हेर्नुहुन्छ भने तिनीहरू फाइनलमा पुगिसके।
सन् १९८२ यता प्रत्येक विश्वकपमा इटालेली क्लब इन्टर मिलानका खेलाडी छन्।
अब यो विश्वकपमा उक्त क्लबका बाँकी प्रतिनिधि ब्रजिली रक्षापङ्क्तिका खेलाडी मिरान्डा, युरुग्वेका मध्यपङ्क्तिका खेलाडी मटियो भेसिनो र क्रोएसियाका 'विङ्गर' इभान पेरिसिच मात्रै छन्।
नभन्नुहोला कि, हामीले तपाईँलाई सचेत गराएनौं भनेर।
के भिएआरले रेफ्रीहरूलाई प्रभावित पारिरहेको छ?

तस्बिर स्रोत, Getty Images
एउटा ब्रजिली अखबार फोल्हे डी एस.पाउलोले रुसमा जारी विश्वकपको ४० वटा खेलको विश्लेषण गरेको थियो।
त्यसअनुसार, भिडिओ असिस्टेन्ट रेफ्री सिस्टम (भिएआर)ले ११ मध्ये नौवटा घटनामा मुख्य रेफ्रीको सोच बदलेको छ जतिबेला उनले मैदानछेउको 'मनिटर'को सहायता लिए।
तीमध्ये छवटामा पेनाल्टी दिइयो जुन सुरुमा रेफ्रीले दिएका थिएनन्।
अरु तथ्याङ्क पनि हेरौं।
ब्रिटिश अखबार द टाइम्समा फुटबलको कानुननिर्माण निकाय इन्टरन्याशनल बोर्डलाई उद्धृत गर्दै जनाइएअनुसार, १५ वटा भिएआर निर्णयमध्ये एउटामात्रै गलत थियो।
पोर्चुगलविरुद्धको खेलमा इरानलाई पेनाल्टी दिइनु गलत भएको उक्त निकायले ठानेको बताइएको छ।
उक्त खेल १-१ को बराबरीमा सकिएको थियो।








