विश्वकप: आर्जेन्टिनाको सम्भावना कायमै

मुसा

तस्बिर स्रोत, Getty Images

विश्वकप अन्तर्गत शुक्रवार रातिको खेलमा नाइजेरियाले आइसल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेपछि सोही समूहको अर्को सदस्य आर्जेन्टिनाको दोस्रो चरणमा पुग्ने सम्भावना केही बढेको छ।

भोग्लोगार्ड एरिनामा भएको खेलमा अहमद मुसाले मध्यान्तरपछिको खेलमा दुई गोल हानेका थिए।

मंगलवार नाइजेरिया र आर्जेन्टिनाबीच सेन्टपिटर्सवर्गमा भिडन्त हुँदैछ, जसको परिणामले उक्त समूहबाट कुन देश दोस्रो चरणमा पुग्नेछ भन्ने निर्क्योल गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

शुक्रवारका अन्य खेलमा स्विट्जरल्याण्डले सर्बियालाई २-१ ले र ब्राजिलले कोष्टारिकालाई २-० अन्तरले पारजित गरेका छन्।

सम्भावना

नाइजेरियाले पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डलाई पराजित गर्ने क्रममा खेलका नायक अहमद मुसा रहे।

उनले प्राविधिक रूपमा उत्कृष्ट कौशल देखाउँदै दोस्रो गोल गरेका थिए।

अन्तिम समयमा पाएको पेनाल्टीको अवसर आइसल्याण्डले गुमाएको थियो।

मुसा

तस्बिर स्रोत, Getty Images

उक्त परिणामले समूह चरणबाटै घर फर्कन लागेको भनेर टिप्पणी गरिँदै आएको आर्जेन्टिनालाई प्रतियोगितामा रहिरहने झिनो आशा दिलाएको छ।

समूह चरणको अन्तिम खेलमा नाइजेरियालाई हराए आर्जेन्टिना सुरक्षित रूपमा दोस्रो चरण पुग्न सक्नेछ।

तर त्यसका लागि अर्को खेलमा आइसल्याण्ड हाल समूह विजेता रहेको क्रोएसियासँग पराजित हुनुपर्नेछ।

आइसल्याण्ड उक्त खेलमा विजयी भए गोल अन्तरले दोस्रो चरणमा को पुग्नेछ भन्ने निर्धारण गर्नेछ।

आर्जेन्टिनालाई हराए नाइजेरिया दोस्रो चरणमा पुग्नेछ।

आइसल्याण्डले क्रोएसियालाई पराजित नगरेको अवस्थामा आर्जेन्टिनासँग बराबरी खेल्दा मात्रै पनि उक्त आफ्रिकी टोलीले विश्वकपको उत्कृष्ट १६ मा आफ्नो स्थान बनाउनेछ।

पहिलो खेलमा क्रोएसियासँग २-० ले हारेको नाइजेरिया शुक्रवारको खेलमा 'गर या मर'को अवस्थामा थियो।

खेल हारेको भए आफ्ना अफ्रिकी प्रतिस्पर्धी इजिप्ट र मोरक्को जस्तै ऊ पनि घर फर्कुनपर्ने थियो।

ब्राजिल: पहिलो जित

शुक्रवार भएको पहिलो खेलमा फिलिपे काउटिन्हो र नेमरले अतिरिक्त समयमा गोल गरेपछि ब्राजिलले विश्वकपमा आफ्नो पहिलो गोल दर्ता गर्‍यो।

टिटेको प्रशिक्षणमा रहेको ब्राजिल लगातार दोस्रो बराबरीतर्फ उन्मुख भइरहेका बेला निर्धारित ९० मिनेटको खेल सकिएपछि थप गरिएको समयमा बार्सिलोनाका मध्यपङ्क्तिका खेलाडी कोउटिन्होले गोल गरेका थिए।

नेमार

तस्बिर स्रोत, Getty Images

र खेल सकिन केही सेकेण्डमात्रै रहँदा विश्वका सर्वाधिक महङ्गा खेलाडी नेमारले डगलश कोष्टाले दिएको बलमा गोल गर्दै ब्राजिललाई जिताएका हुन्।

७८ औँ मिनेटमा पाएको पेनाल्टीको अवसर भीएआर प्रविधिद्वारा गरिएको जाँचपछि रेफ्रीले उल्टाउने निर्णय गरेपछि ब्राजिलको जितको सम्भावना कमजोर देखिएको थियो।

ब्राजिलले अहिलेसम्म कोस्टारिकाविरुद्ध खेलका ११ मध्ये १० खेल जितेको छ।

विश्वकपमा हालसम्म खेलेका पाँचवटा खेलमै कोस्टारिकाले जित हासिल गर्न सकेको छैन।

पछिल्लो परिणामसँगै ब्राजिल समूह 'ई' को शीर्ष स्थानमा छ र अर्को खेलमा सर्बियाविरूद्ध बराबरी मात्रै खेले पनि दोस्रो चरणमा पुग्नेछ।

स्विट्जरल्याण्डको प्रगति

शुक्रवारकै अर्को खेलमा युरोपेली देश स्विट्जरल्याण्डले विश्वकपको दोस्रो चरणमा आफूलाई पुर्‍याउने दिशामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको थियो।

सर्बियाविरूद्ध अन्तिम समयमा स्टोक सिटीबाट खेल्ने आप्ना स्ट्राइकर साकिरीले उत्कृष्ट शैलीमा एक्लै गोल गरेपछि स्विट्जरल्याण्ड विजयी बनेको थियो।

साकिरी

तस्बिर स्रोत, Getty Images

खेलको शुरूमा सर्बियाले अग्रता लिएको थियो र 'पहिलो हाफ'भरी आफ्नो दबदबा कायम रहेको थियो।

दोस्रो हाफमा स्विट्जरल्याण्डले खेललाई बराबरीमा ल्यायो।

तर सर्बियाले माग गरेको पेनाल्टीको अवसर भने अस्वीकृत गरिएको थियो।

गोल अन्तरका आधारमा स्विट्जरल्याण्ड समूह 'ई'मा ब्राजिलपछि दोस्रो स्थानमा छ।

प्रतियोगिताबाट बाहिरिसकेको कोस्टारिकाविरुद्ध बराबरीमात्रै खेले पनि उसले दोस्रो चरणको लागि आफ्नो स्थान सुनिश्चित गर्नेछ।