तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
व्यापार युद्ध चाहन्नौँ, थोपरिए तर्सन्नौँ: चीन
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले थप दुई सय अर्ब डलरको चिनियाँ सामानहरूमा कर लगाउने चेतावनी दिएका छन्।
ट्रम्पले यदि चीनले अमेरिकी सामानमा कर लगाउने आफ्नो व्यवहारमा परिवर्तन गर्न अस्वीकार गरे उसले ती सामानहरूमा १० प्रतिशत कर लागु गर्ने बताएका छन्।
कडा प्रतिक्रिया
तर चीनले अमेरिकाले व्यापार युद्धबारे त्रास उत्पन्न गराएर अनुचित फाइदा लिन खोजेको आरोप लगाएको छ।
चिनियाँ वाणिज्य मन्त्रालयले चीनले गुणात्मक र परिणामात्मक उपायहरू अवलम्बन गरी अमेरिकी सरकारको थप कर लगाउने धम्कीविरुद्ध दृढतापूर्वक लड्ने जनाएको छ।
ट्रम्पले चीनले वर्षौँदेखि अमेरिकासँगको असन्तुलित व्यापारबाट अनुचित रूपमा लाभ लिइरहेको दाबी गर्छन्।
सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा उनले अमेरिकी व्यापार घाटा कटौती गर्न करहरू लगाउने प्रतिबद्धता जनाएका थिए।
तर थुप्रै अर्थशास्त्रीहरूले कर लगाउने निर्णयले अमेरिकी उपभोक्ताहरूका लागि उत्पादन महँगो हुनसक्ने र केही व्यवसायलाई हानी पुग्न सक्ने भन्दै चेतावनी दिएका छन्।
मङ्गलवार एशियाको स्टक बजार तीव्र रूपमा ओरालो लागेको छ।
साङ्घाईमा सबभन्दा बढी ३.८ आठ प्रतिशतले घटेको छ। युरोपेली बजारहरू पनि एक प्रतिशत भन्दा बढीले ओरालो लागेका छन्।
बदला
गतहप्ता ट्रम्पले ५० अर्ब डलर मूल्य बराबरको चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए।
त्यसको प्रतिकार स्वरूप बेइजिङले कृषि, मोटर र सामुद्रिक उत्पादनसहित ५० अर्ब डलर बराबरको ६ सय ५९ वटा अमेरिकी उत्पादनहरूमा कर लगाउने जनायो।
राजनीति
बीबीसीका आर्थिक सम्वाददाता एन्ड्र्यु वाकर भन्छन् राष्ट्रपति ट्रम्पका वास्तविक तथा सम्भावित समर्थकहरूलाई चीन विरुद्ध कडा कदम चालेको मन पर्ने गर्छ।
ट्रम्पको ध्यान आगामी नोभेम्बरमा हुने कङ्ग्रेसको चुनावपट्टि पनि छ।
सम्भवत: उनलाई चीनले बदलास्वरूप कर लगाउन सक्ने अमेरिकी सामग्रीहरू बाँकी नरहून् भन्ने लागेको पनि हुनसक्छ। किनकि चीनले जति थरी सामान अमेरिकालाई बेच्छ अमेरिकाले त्यति थरी सामान चीनलाई बेच्दैन।
तर वाकर भन्छन्, "राष्ट्रपति ट्रम्पलाई एउटा जोखिम के चाहिँ हुन सक्छ भने उनको दल रिपब्लिकनका अधिकांश नेता सैद्धान्तिक रूपमै स्वतन्त्र व्यापारका पक्षधर छन्। उनीहरूलाई चीनसँगको समस्या यसरी समाधान गर्न नहुने भन्ने लागेको हुनसक्छ।"