जी सेभेन बैठकमा राष्ट्रपति ट्रम्प एक्लिए

तस्बिर स्रोत, AFP/Getty Images
क्यानडामा ठूला औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनको एउटा शिखर बैठकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अन्य नेताहरूबीच तीव्र मतभेद देखिएको छ।
क्राइमियालाई आफूमा गाभेपछि समूहबाट निकालिएको रुसलाई फेरि समावेश हुन अमेरिकी राष्ट्रपतिले आश्चर्यजनक रूपमा आग्रह गरे।
तर जर्मन चान्सलर एंगेला मर्केलले शिखर बैठकमा सहभागी युरोपेली संघका अरू सदस्य राष्ट्रहरू त्यस्तो हुनु हुँदैन भन्ने कुरामा सहमत रहेको बताइन्।
रुसी राष्ट्रपति कार्यालय क्रेम्लिनका एकजना प्रवक्ताले चाहिँ आफूहरू जी सेभेनको सट्टा 'अरू संरचनामा इच्छुक रहेको' प्रतिक्रिया दिएका छन्।
खतरा
ट्रम्प प्रशासनले हालै स्टील र एलुमिनियम आयातमा लगाएको करसम्बन्धी विषय शिखर बैठकमा हावी भएको छ।
क्यानडाले ट्रम्प प्रशासनले व्यापारमा लगाएको कर 'गैरकानूनी' भएको बताएको छ।

तस्बिर स्रोत, Getty Images
युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टुस्कले व्यापार, जलवायु परिवर्तन र इरानबारेको ट्रम्पको अडानले 'वास्तविक खतरा उत्पन्न गराएको' चेतावनी दिए।
यद्यपि ट्रम्पसँगको भेटवार्तापछि फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले कुराहरू अगाडि बढिरहेको र व्यापारको विषयमा प्रगति गर्ने सम्भावना अझै रहेको बताए।
विश्वस्त
तर विस्तृत उनले रूपमा केही बताएनन्।
शिखर बैठकको अन्त्यमा संयुक्त वक्तव्य जारी नहुने हल्लापछि राष्ट्रपति ट्रम्पले त्यो जारी हुनेमा आफू विश्वस्त रहेको बताए।
जी सेभेनको वार्षिक बैठकले क्यानडा, अमेरिका, ब्रिटेन, फ्रान्स, इटली, जापान र जर्मनीलाई एक ठाउँमा ल्याएको छ।
आर्थिक विषय प्रमुख मुद्दा भए पनि महत्त्वपूर्ण विश्वव्यापी मुद्दाहरूले पनि बैठकमा स्थान पाउन थालेका छन्।








