ट्रम्प र किमको भेटघाट हुने होटल कस्तो छ?

तस्बिर स्रोत, Reuters/Capella Singapore
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ अनबीच हुने बहुप्रतिक्षित भेटवार्ता सिङ्गापुरको सेन्टोसा टापुस्थित एक होटलमा हुने ह्वाइट हाउसले पुष्टि गरेको छ।
जुन १२ मा हुने सो भेटवार्ता कुनै पनि अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीचको पहिलो भेटवार्ता हुनेछ।
ह्वाइट हाउसकी प्रेस सचिव स्यारा स्यान्डर्सले सो भेटवार्ता त्यहाँको पाँचतारे क्यापेला होटलमा हुने जनाएकी छन्।
तर दुवै नेता अन्यत्र छुट्टाछुट्टै होटलमा बस्नेछन्।

तस्बिर स्रोत, Getty Images
राष्ट्रपति ट्रम्प अघिपछि अमेरिकी राष्ट्रपतिहरू बस्दै आएको सांग्रिला होटलमा बस्ने आकलन गरिएको छ भने स्ट्रेट्स टाइम्स पत्रिकाका अनुसार किम सेन्ट रिजिस सिङ्गापुरमा बस्नेछन्।
ती दुवै होटल सिङ्गापुरको मुख्य टापुमा अवस्थित छन्।
किन सेन्टोसा?
सिङ्गापुरका करिब ६३ वटा टापुहरूमध्ये सेन्टोसा एक हो।
करिब पाँच सय हेक्टरमा फैलिएको सो टापुमा विलासी रिजर्टहरू, धनीमानीहरूका आवासगृह तथा गल्फ क्लबहरू छन्।
सिङ्गापुरको मूलभूमिभन्दा अलिकति पर रहेको सो टापुको अवस्थितिका कारण सेन्टोसालाई सुरक्षित स्थान मानिन्छ।
टापुको आवतजावत सहजै नियन्त्रण गर्न सकिन्छ। त्यहाँ आउनजानका लागि खालि एउटा केबलकार, एउटा मोनोरेल, एउटा पैदलयात्रुहरूका लागि मार्ग र गाडीका लागि एउटा सुरुङमार्ग मात्र छन्।
साथै विश्वनेताहरूलाई ऐतिहासिक वार्ताबाट केही विश्राम लिन मन लागे गल्फ कोर्सहरू त छँदैछन्।




















