अमेरिका, उतर कोरिया 'ट्रम्प-किम शिखर वार्ताको तयारीमा'

तस्बिर स्रोत, Reuters
अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच हुन सक्ने शिखरवार्ताका विषयमा छलफल गर्न अमेरिकी अधिकारीहरूको एउटा टोली उत्तर कोरिया पुगेको छ।
दुवै पक्षबीचको वार्ता उत्तर कोरियाको परमाणु निरस्त्रीकरणका विषयमा केन्द्रित रहेको ठानिएको छ।
दुई कोरियाको सीमापारिको असैनिकीकृत क्षेत्रमा द्विपक्षीय वार्ता सोमवार पनि जारी रहने जानकारी बीबीसीलाई प्राप्त भएको छ।
उत्तर कोरिया पुगेको अमेरिकी अधिकारीहरूको टोली राष्ट्रपति डोनल्ड ट्रम्प र किम जङ अनबीच हुने सम्भाव्य शिखर वार्ताको तयारीमा जुटेको छ।
अपेक्षा
अमेरिकी विदेश मन्त्रालयका अनुसार उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रको असैनिकीकृत क्षेत्र पान्मुन्जोम पारि रहेको उत्तर कोरियाली भूभागमा दुई पक्षबीच छलफल भएको छ।
अमेरिकी टोलीको नेतृत्व दक्षिण कोरियाको लागि अमेरिकी पूर्वराजदूत सुङ किमले गरिरहेका छन्।
उत्तर कोरियाली टोलीको नेतृत्व उपविदेशमन्त्री चोए सोन हुइले गरेका छन्।
शिखर वार्तामा उत्तर कोरियाली परमाणु निरस्त्रीकरणका विषयले प्रमुखता पाउने अपेक्षा गरिएको छ।
अन्तर्वस्तु
दुवै पक्षले अहिले त्यही मुद्दाका अन्तर्वस्तुका विषयमा छलफल गरिरहेको ठानिएको छ।
राष्ट्रपति ट्रम्प र किमबीच जुन महिनामा सिङ्गापुरमा वार्ता हुने तयारी चलेको थियो।
तर गतसाता ट्रम्पले त्यसलाई स्थगित गरिदिए।
अहिले चाहिँ दुवै पक्ष फेरि वार्ताको तयारीमा जुटिरहेका छन्।









