उत्तर कोरिया: 'दबाब दिए ट्रम्पसँगको शिखरवार्ता भङ्ग'

तस्बिर स्रोत, Reuters
उत्तर कोरियाले भनेको छ अमेरिकाले उसलाई आफ्नो परमाणु अस्त्र परित्याग गर्न दबाब दिएमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुने भनिएको शिखरवार्ताबाट सो देश पछि हट्न सक्नेछ।
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनबीच हुने भनिएको बहुचर्चित बैठक आगामी जुन १२ तारिखका लागि तय गरिएको छ।
तर एउटा आक्रोशपूर्ण वक्तव्यमा उत्तर कोरियाका उपविदेशमन्त्रीले अमेरिकालाई गैरजिम्मेवार वक्तव्य दिएको र खराब भावना राखेको आरोप लगाएका छन्।
उनले सोझै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनमाथि औँला तेर्साएका छन्।
ती उत्तर कोरियाली उपविदेशमन्त्री किम क्ये-ग्वान ले भने, " उनीप्रतिको घृणालाई हामी लुकाउन चाहँदैनौँ।"
सहमति
उत्तर कोरियाले कोरियाली प्राय:द्वीपको गैरपारमाणिविकीकरणप्रति आफू प्रतिबद्ध रहेको भने पछि किम र ट्रम्पबीच अभूतपूर्व वार्ता हुने सहमति भएको थियो।
गैरपारमाणिविकीकरण अन्तर्गत के के पर्दछ भन्ने अस्पष्ट नै छ तर उत्तर कोरियाले विदेशी संचारमाध्यमलाई आफ्नो एउटा मुख्य परमाणु परीक्षण स्थल भङ्ग गर्न लागेको दृश्य अवलोकन गर्न आमन्त्रण समेत गरेको छ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले हालै उत्तर कोरियाले परमाणु कार्यक्रम परित्याग गर्न "लिबिया मोडेल" अपनाउन सक्ने भनि टिप्पणी गरेका थिए।
त्यसबाट प्योङ्याङ सशङ्क बन्न पुगेको थियो, किनकि उनीहरूका अनुसार लिबियाका शासक कर्णेल गद्दाफीले आफ्नो परमाणु कार्यक्रम परित्याग गरेपछि त्यसको केही वर्षपछि नै उनलाई पश्चिमा शक्तिहरूको समर्थनप्राप्त विद्रोहीहरूले मारिदिएका थिए।

तस्बिर स्रोत, Getty Images
सउलस्थित बीबीसी सम्वाददाता लोरा बिकर भन्छिन्, "परमाणु अस्त्र भण्डार आफ्नो अस्तित्वका लागि अत्यावश्यक रहेको ठान्दै आएको उत्तर कोरियाले अब आएर आफ्नो मागहरू स्पष्ट रूपमा अघि सारेको छ।"
उपविदेशमन्त्री किमले जारी गरेका वक्तव्यमा भनिएको छ, " यदि अमेरिकाले हामीलाई कुनामा पारेर एकपक्षीय रूपमा हामीले आफ्नो परमाणु अस्त्र परित्याग गर्नुपर्छ भनेर भन्छ भने हामीलाई वार्तामा कुनै चासो हुने छैन।"
"जुन १२ तारिखमा सिंगापुरमा हुने वार्ताका विषयमा पनि हामीले पुनर्विचार गर्नुपर्ने हुन्छ।"








