ट्रम्प-किमबीच शिखरवार्ता जुन महिनामा सिंगापुरमा

तस्बिर स्रोत, Getty Images
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अनसँग आफूले जुन १२ मा सिंगापुरमा भेट्न लागेको बताएका छन्।
किमलाई भेट्ने निम्तो स्वीकार गरेर ट्रम्पले गत एप्रिलमा विश्वलाई आश्चर्यचकित तुल्याएका थिए।
त्यसअघि यी दुई नेताले एकअर्काको आलोचना र उपहास गर्ने गरेका थिए।
उत्तर कोरियाली नियन्त्रणबाट मुक्त भएका तीन अमेरिकी बन्दीलाई आफूले स्वागत गरेको केही घण्टामा ट्रम्पले त्यस्तो घोषणा गरेका हुन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको प्योङ्याङ भ्रमणका क्रममा उनीहरूलाई मुक्त गरिएको थियो।
ट्रम्प र किमबीचको भेटवार्ताका विषयबारे छलफल गर्न पोम्पेओ त्यहाँ पुगेका थिए।
कूटनीतिक वार्तास्थल

तस्बिर स्रोत, Reuters
यसअघि पनि सिंगापुरमा यस्ता उच्चस्तरका कूटनीतिक भेटवार्ता हुँदै आएको थियो।
सन् २०१५ मा चीन र ताइवानले पनि सिंगापुरमा ऐतिहासिक वार्ता गरेका थिए।
अमेरिका र सिंगापुरबीच निकट सम्बन्ध छ।
सिंगापुरले उत्तर कोरियासँग कूटनीतिक सम्बन्ध राखिरहेको छ।
अन्तर्राष्ट्रिय प्रतिबन्धहरू कडा तुल्याइँदा अन्य मुलुकले उत्तर कोरियासँग व्यापार गर्न बन्द गरेपनि सिंगापुरले भने त्यसो गरेको थिएन।








