उत्तर कोरियाद्वारा दक्षिणसँगको वार्ता रद्द

तस्बिर स्रोत, Getty Images
उत्तर कोरियाले अमेरिकासँगको संयुक्त सैन्य अभ्यासप्रति आक्रोश व्यक्त गर्दै बुधवारका लागि दक्षिण कोरियासँग तय भएको उच्चस्तरीय वार्ता रद्द गरेको छ।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले सैन्य अभ्यासलाई 'उक्साहटपूर्ण र अतिक्रमणका लागि पूर्वतयारी' भएको जनाएको छ।
उत्तर कोरियाले आफ्ना नेता किम जङ-अन र राष्ट्रपति डोनल्ड ट्रम्पबीच जुन १२ का लागि तय भएको ऐतिहासिक शिखर बैठकको भविष्यबारे पनि अमेरिकालाई चेतावनी दिएको छ।
गत मार्चमा भेटवार्ताका लागि किमले दिएको निम्तो स्वीकारेर ट्रम्पले विश्वलाई आश्चर्यमा पारेका थिए।
विशेष
निम्तोपछि सामाजिक सञ्जाल ट्विटरमा ट्रम्पले लेखेका थिए, "शिखर बैठकलाई हामी दुवै जनाले विश्व शान्तिका लागि एउटा विशेष क्षण बनाउने प्रयत्न गर्नेछौँ।"
उत्तरले दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता रद्द गरे पनि ट्रम्प र किमबीचको शिखर बैठकको तयारी जारी राखेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

तस्बिर स्रोत, Getty Images
उसले उत्तर कोरियाको धारणामा कुनै परिवर्तन भएकोबारे जानकारी नभएको बताएको छ।
एप्रिल २७ मा दुई कोरियाली नेताबीच भएको दुर्लभ शिखर बैठकपछि बुधवारको उच्चस्तरीय वार्ता तय भएको थियो।
सहमत
यसै हप्ताको शुरूतिर दुई देश पाममुनजुममा वार्ता गर्न सहमत भएका थिए।
दुई मुलुकबीचको उक्त असैनिकृत क्षेत्रलाई 'सहमति नगर' को रूपमा पनि व्यख्या गर्ने गरिएको छ।
दुई देशका अधिकारीहरूले ऐतिहासिक शिखर बैठकमा भएका सहमतिबारे विस्तृत छलफल गर्ने योजना बनाएका थिए।
जसअन्तर्गत उनीहरूले कोरियाली प्रायद्वीपलाई पारमाणविक अस्त्र मुक्त पार्न र सन् १९५३ मा युद्धविराममा टुङ्गिएको कोरियाली युद्धको औपचारिक अन्त्यका लागि मिलेर काम गर्ने सहमति गरेका थिए।








