सुन तस्करी काण्ड: एसएसपी श्यामबहादुर खत्री जेल चलान

सङ्गठित अपराध र सुन तस्करी मुद्दामा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न मोरङ जिल्ला अदालतले आदेश दिएको छ ।

आफूविरुद्ध अनुसन्धान थालिएपछि फरार रहेका भनिएका खत्री बिहीवार आफैँ अदालतमा उपस्थित भएका थिए। बयानपछि थुनछेकको बहस भएको थियो।

बहसपछि तत्काल प्राप्त प्रमाणका आधारमा सङ्गठित अपराधमा एसएसपी खत्रीको संलग्नता देखिएको भन्दै उनलाई थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश भएको अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले बताए।

साढे ३३ किलो सुन तस्करी र त्यससँग जोडिएको सनम शाक्यको हत्या प्रकरणमा मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती गोरेले एसएसपी खत्रीकै सहयोगमा सुनको तस्करी हुने गरेको बयान दिएको बताइएको थियो।

तर खत्रीले बयानका क्रममा आरोपहरु अस्वीकार गरेको बताइएको छ।

यो मुद्दामा एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी, सञ्जय राउत र पूर्वडीआइजी गोविन्दप्रसाद निरौलालगायतका प्रहरी अधिकारीसहित ६३ मुछिएका छन्।

खत्रीलाई गतवर्ष पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो।

घटनाको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव ईश्वरी पौडेलको नेतृत्वमा गठित टोलीको प्रतिवेदनका आधारमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।

मुद्दा दायर गर्दा २८ जना मात्र सशरीर पेस गरिएका थिए भने अन्य अभियुक्त फरार थिए। फरारमध्ये गोरे र खत्री अदालतसमक्ष पेस भइसकेका छन्।

गोरेको समूहले २०७० सालयता रु १७ अर्बभन्दा बढी मूल्यको सुनको तस्करी गरेको दाबी समितिको छ।

हराएको भनिएको साढे ३३ किलो सुन भने अझै पत्ता नलागेको अधिकारीहरू बताउँछन्।