ट्रम्प-किम वार्ता: दक्षिण कोरियाली राष्ट्रपति 'सहभागी हुनसक्ने'

तस्बिर स्रोत, Getty Images
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जङ-अनको प्रस्तावित शिखरवार्तामा दक्षिण कोरियाका राष्ट्रपति मून जे-इन पनि सहभागी हुनसक्ने दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन्।
दक्षिण कोरियाको राष्ट्रपतीय कार्यालयका अनुसार मूनको सम्भावित सहभागिताबारे प्रारम्भिक चरणमा छलफल हुँदैछ।
ट्रम्प-किम शिखरवार्ताअगाडि गरिने अरू छलफलको प्रगतिका आधारमा मूनको सहभागिताबारे निर्णय लिइने बताइएको छ।
सिङ्गापुरमा जुन १२ मा हुने तय भएको सो ऐतिहासिक शिखरवार्तामा सहभागी नहुने भन्दै ट्रम्पले गत हप्ता एउटा पत्र उत्तर कोरियाका नेतालाई पठाएका थिए।

तस्बिर स्रोत, Getty Images
किमले देखाएको आक्रोश र वैरभावका कारण निर्धारित भेट गर्न उपयुक्त नहुने ट्रम्पको तर्क थियो।
त्यसले केही अनिश्चितता देखिएको भए पनि भोलिपल्ट्टै उनले वार्ताको सम्भावना कायम रहेको बताएका थिए।
एप्रिलमा अभूतपूर्व वार्ता गरेका दुई कोरियाली नेताहरूले फेरि शनिवार भेटेका थिए।
मूनको कार्यालयका अनुसार बैठकमा 'उत्तर कोरिया र अमेरिका शिखरवार्ताको सफलताका लागि दुवै नेताहरूले 'आफ्ना विचार आदानप्रदान' गरेका थिए।
ट्रम्प र किमले के विषयमा छलफल गर्लान् भन्ने स्पष्ट नभए पनि उनीहरूको भेट कोरियाली प्राय:द्वीपको तनाव कम गर्ने र उत्तर कोरियाको परमाणु निरस्त्रीकरणका तरिकामा केन्द्रित हुने विश्वास गरिएको छ।

तस्बिर स्रोत, The Blue House/Twitter









