को फेरिएला: शाही परिवार कि मेगन?

    • Author, जोनी डायमण्ड
    • Role, शाही संवाददाता, बीबीसी न्यूज

प्रत्येक शाही विवाह फरक हुन्छ। तर एक किसिमले भन्नुपर्दा प्रत्येक शाही विवाह शाही परिवारलाई नयाँ ढङ्गले अघि बढाउने अवसर हो।

यस्ता ठूला विवाह विरलै हुने गर्छन् र हिजोआज विश्वभरि त्यसप्रति आकर्षण हुने गर्दछ।

त्यही भएर यसले 'आजका दिनमा शाही परिवार उनीहरू हुन' भनेर देखाउने अवसर दिन्छ।

तर यो नितान्त फरक खालको शाही विवाह हो।

परम्परागत

यो फरक हो किनभने विवाहको दिनको व्यवस्थापनको शैली नै पनि फरक किसिमको छ।

सानो-सानो कुरा जस्तै परम्परागत रूपमा ठूलो केक यसपटक छैन्।

ठूलो कुरा भन्नुपर्दा विवाह समारोहमा पवित्र गीत गाउने मण्डली पनि अर्कै किसिमको छ।

विन्ड्सर क्यासलमा हुने विवाह समारोहमा सार्वजनिक जीवनका १२ सय मानिसहरूलाई निम्तो गरिनु आफैँमा एउटा उल्लेख्य निर्णय हो।

सन् १९९७ मा राजकुमार ह्यारीकी आमा, वेल्सकी राजकुमारी डायनाको निधन भएपछि तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरले उनलाई 'जनताकी राजकुमारी' का रूपमा चित्रण गरेका थिए।

यो "जनताको विवाह" नहुनसक्छ। तर यो जनतासँग नजिक पुग्न लागेको शाही विवाह भने हो।

शुरूदेखि नै राजकुमार ह्यारी र मेगनले उनीहरूले आफ्नो विवाहलाई समावेशी समारोह बनाउन चाहेको बताएका थिए।

मान्यता

र, उनीहरूले शाही मान्यताको सीमाभित्र रहेर त्यसलाई पूरा गर्न उपयुक्त प्रयास गरेका छन्।

उनीहरूको विवाह विगतको शाही विवाहभन्दा फरक देखिन्छ। वास्तवमै दुलहीको एकदमै भिन्न पृष्ठभूमिले गर्दा पनि यस्तो भएको हो।

उनी सर्वसाधारण भएकाले मात्रै फरक भएको होइन। कुलीन पृष्ठभूमि नभए पनि केहीले पछिल्ला वर्षहरूमा शाही परिवारमा विवाह गरेका छन्।

न त उनले एक पटक सम्बन्ध विच्छेद गरेकाले फरक देखिएको हो।

८२ वर्षअघि भविष्यका राजगद्दी उत्तराधिकारीले एकजना सम्बन्ध विच्छेद गरेकी महिलासँग विवाह गर्न गद्दी त्याग्ने निर्णय गरेका थिए।

दिवंगत राजकुमारी मार्गरेटले आफ्ना प्रेमी सम्बन्ध विच्छेद भएका पुरूष भएका कारण उनीसँग सम्बन्ध नजोड्ने निर्णय गरिन्।

न त मेगन अमेरिकी भएकाले विवाह फरक भएको हो।

विवाह समारोहमा मार्कललाई 'आयल' अर्थात विवाह समारोहमा कसले डोर्‍याएर ल्याउने भनेर देखिएको अन्योलले पनि त्यो फरक पार्छ।

उनको परिवारलाई शाही परिवारको सदस्य बन्नेबारेका नियमहरू जानकारी नभएको जस्तो देखिन्छ, वा थाहा रहेछ भने त्यसबारे खासै चासो नदिन सक्ने अवस्था छैन।

उनी उनकै शब्दामा 'मिश्रित जात'की हुन्। उनकी आमा अफ्रिकी अमेरिकी हुन् र कतिपयले शाही परिवारका लागि त्यो असाधारण वा अझ 'क्रान्तिकारी' सम्म भएको टिप्पणी गरेका छन्।

र अरू पनि थप कुरा छ। उनी काम गर्थिन् वा गर्छिन्।

उनको सार्वजनिक परिचय थियो वा छ। उनी एकदम कुशल वक्ता हुन् र शाही परिवारका जो कोही भन्दा पनि अझ कुशल वक्ता भनेर तर्क समेत गर्न सक्छिन्।

अझ थप उनी आफैँले स्वीकार गरेकी नारीवादी हुन् र विश्वभर महिलामाथि भइरहेका यौन दुर्व्यवहारविरूद्धको #मी टू अभियान चलाउने पुस्ताको एक नाम चलेकी सदस्य हुन्।

त्यही भएर परम्परागत र कतिपयका लागि रूढीवादी समेत देखिने संस्थामा मेगन मर्कलको उपस्थिति आफैँमा एउटा ठूलो परिवर्तन हो।

आधुनिक

उनले शाही परिवारलाई आधुनिक बनाउने, अझ राजतन्त्रलाई, समेत जोगाउने चर्चा गरिएको छ।

शाही परिवारले आफूलाई निरन्तर नवीन बनाइ राख्नुपर्छ र उसले त्यसलाई बेलाबेलामा प्रमाणित पनि गरेको छ।

मार्कलेले उनीहरूलाई इन्स्टाग्रामको युगमा वास्तवमै डोर्‍याइरहेकी छन्। तर उनले कति परिवर्तन गर्छिन् भन्नका लागि हामीले पर्ख र हेर नै गर्नुपर्छ।

उनले विगतमा भनेकी छन्, "मैले खाएर बस्ने महिला बन्न कहिल्यै चाहिनँ, मलाई सधैँ काम गर्ने महिला बनिरहन मन लाग्यो।"

शाही भूमिका दिवाभोजमा सरिक हुनु हो। र चियापानमा पनि। अनि अस्पताल उद्घाटन गर्नु वा अरू परोपकारी काममा पनि सहभागी हुनु हो।

र, राम्रो देखिनु अनि हो भनिरहनु र मानिसहरूले के गरिरहेका छन् र मौसम कस्तो छ भनेर सोध्नु बाहेक धेरै नबोल्नु पनि हो।

मलाई गलत नठान्नुहोस्, यो महत्त्वपूर्ण काम हो कतिपय बेला गाह्रो र पट्यारलाग्दो पनि हुन्छ जस्तो म कल्पना गर्छु। तर यस्तो काम मेगनले कहिल्यै गर्दै आएकी छैनन्।

त्यही भएर हामीले मेगनले शाही परिवारलाई बदल्छिन् वा शाही परिवारले मेगनलाई बदल्छ भनेर जान्न पर्खेर हेर्नैपर्छ।