तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
राजनीतिक टिप्पणीसम्बन्धमा केन्द्र र प्रदेश २ बीच खटपट
जनकपुरमा भएको भारतीय प्रधानमन्त्रीको अभिनन्दनका क्रममा व्यक्त राजनीतिक टिप्पणीलाई लिएर केन्द्र र प्रदेश २ बीच खटपट देखिएको छ।
प्रधानमन्त्री केपी ओलीले आइतवार संसदमै, प्रदेश २ का मुख्यमन्त्रीले गरेको राजनीतिक टिप्पणीप्रति लक्षित गर्दै त्यो राष्ट्रिय तथा कूटनीतिक मान्यताविपरीत रहेको भनाइ राखे।
त्यसको प्रतिवाद गर्दै मुख्यमन्त्री लालबाबु राउतले आफूले पहिलेदेखि उठ्दै आएको राजनीतिक विषयको चर्चामात्रै गरेको भन्दै त्यसो गर्नु सही कदम भएको टिप्पणी गरेका छन्।
असन्तोष
'संविधान विभेदकारी रहेको' भन्ने मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तितर्फ इङ्गित गरेको जस्तो लाग्ने आफ्नो धारणामा ओलीले भने, "जनकपुरमा भएको नागरिक अभिनन्दनमा अभिव्यक्त भएका कतिपय कुराहरू राष्ट्रिय मर्यादा र कूटनीति मर्यादाको कसीमा कमजोर र अनुपयुक्त रहेको पनि देखियो। तर नेपाल सरकारको ती नीति होइनन्। नेपाल सरकारका परराष्ट्र सम्बन्ध सञ्चालन र नेपाल-भारत सम्बन्ध सञ्चालनका स्पष्ट धारणाहरू छँदैछन्।"
अभिनन्दन समारोहमा मुख्यमन्त्री राउतले राज्यले मधेशीहरू प्रति विभेदकारी नीति लिएको आरोप लगाउँदै त्यसका कारण तराईका जनता तुलनात्मक रुपमा गरिब, शोषित र उत्पीडित रहेको बताएका थिए।
प्रधानमन्त्रीको भनाइको जवाफमा राउतले राष्ट्रिय राजनीतिको मुद्दा बनेको विषयलाई निरन्तरता मात्रै दिएको तर्क गरे।
साथै आफूले कुनै गलत काम नगरेको पनि उनले बताए।
उनले भने, "यसमा असन्तुष्टिको कुरै छैन किन भने मैले राखेको कुरा बिलकुल सही छ। मधेशी जनताहरूको यही आकांक्षा हो। विगतदेखि नै हामीले राख्दै आएको कुरालाई निरन्तरता दिएको हुँ। सदनमा पनि हामीले राखेका छौं।"
आलोचना
आन्तरिक राजनीतिक असहमतिको विषय विदेशी पाहुना समक्ष उठाएको भन्दै कतिपयले मुख्यमन्त्री राउतको आलोचना पनि गरेका छन्।
त्यस्ता आलोचनाको प्रतिवाद गर्दै उनले भने, "मुलुकको कुन यस्तो समय छ जहाँ भारतको उपस्थिति रहेको छैन। चाहे २००७ सालको क्रान्ति होस् या २०४६ सालको आन्दोल अनि जनयुद्भमा सहमति हुँदा पनि के त्यहाँ भारतको उपस्थिति थिएन र?"
संविधान जारी भएलगत्तै भारतले त्यसका कतिपय विषयमा सार्वजनिक रुपमै असन्तुष्टि पाखेको थियो।
तर पछिल्लो केही समय भारतीय पक्षले त्यो विषय उठाएको देखिदैंन जसलाई ओली नेतृत्वको सरकारसँग सम्बन्ध सुधार्ने उसको प्रयासको रुपमा अर्थ्याइएको छ।
तर पनि तराई केन्द्रित दलको सरकार रहेको प्रदेश २ का मुख्यमन्त्रीले राजनीतिक मुद्दा उठाइदिएपछि केन्द्र असन्तुष्ट बनेको जस्तो देखिन्छ।
यो घटनालाई कतिपयले परराष्ट्रसहितका मामिलामा केन्द्र र प्रदेशबीच देखापर्ने सक्ने खटपटको सुरुवाती संकेतका रुपमा व्याख्या गरेका छन्।