तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पीडित भन्छन्, 'भूकम्पले कसैको ज्यान नलिने गरी संरचना बनून्'
गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको विक्रम सम्वत् २०७२ सालको भूकम्पमा सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकमा भयो।
त्यहाँ अझै पनि धेरैजसो पीडितहरू अस्थायी ओतमै गुजारा गरिरहेका छन् भने कतिपय चाहिँ सरकारले दिने राहतको पर्खाइमा छन्।
भूकम्प गएको तीन वर्ष भइसक्दा पनि त्यस्तो पर्खाइमा रहेका सिन्धुपाल्चोकको चौताराका मानिसहरू भूकम्पपछिको अवस्थाबारे के भन्छन्?
कृष्णबहादुर श्रेष्ठ, ५१
भूकम्पबाट ज्यान त जोगियो तर त्यसपछि निकै दु:ख पाइयो। हिजो जस्तो लाग्छ तर तीन वर्ष बितिसक्यो। तर घर बनाउन सकिएको छैन। यही चैतबाट घर बनाउन सुरु गरेको छौं तर कहिले सकिने हो थाहा छैन। सरकारले दिएको केही लाख रुपैयाँ त लियौं तर त्यसले केही नि नहुँदो रहेछ। तर पनि खुसी नै छु, परिवारमा कसैलाई केही भएन, दु:खमा बाँच्न भूकम्पले सिकाएकै छ। अब चाहिँ भूकम्पका कारण कसैले ज्यान गुमाउनु नपरोस्। मेरो कामना छ।
मनकुमारी श्रेष्ठ, ५७
भूकम्पले मेरा श्रीमान्, जेठाजु, जेठानी सबैलाई पुर्यो। कैयौं दिनपछि लास निकालेको हो। अझै पत्यार पनि लाग्दैन त्यसरी आफन्त गुमाउनु पर्ला भनेर। म त सम्झिन पनि चाहन्न त्यो दिन। म नजिकैको माइती घरमा भएको बेलामा भूकम्प गयो, त्यहाँ कौसीबाट भाग्न सकेर ज्यान जोगिएको हो। बजारको (चौतारा) घरमा भएको भए भाग्न नसकेरै ज्यान जान्थ्यो। त्यो घर बनाएको दुई वर्षमात्र भएको थियो। नयाँ घर बनाउन सरकारले दिने पैसाले पुग्दैन। तत्काल घर बनाउन छोराछोरीको स्थायी जागिर पनि त छैन। जे होस् घर चाहिँ बलियो र भरपर्दो बनाउन सकियोस् भन्ने सोच छ तर कहिले कसरी भन्ने थाहा छैन।
चित्रमाया सापकोटा, ७०
भूकम्प अब फेरि आउँछ भनेर बेलाबेला हल्ला हुन्छ। त्यति बेला मलाई रातभर निद्रा लाग्दैन। म मरे नि भर्खरैका नातिनातिनालाई केही नहोस् भन्ने लाग्छ। गाउँको घर भूकम्पले ढलाएपछि चौतारामा बसेर पढ्ने नातिनातिनाको हेरचाहका लागि यहीँ बसिरहेकी छु। गाउँमा भने पुरानै अवस्था छ। खासै परिवर्तन छैन। तर यहाँ बजारमा धेरै घर बनिसकेका छन्। यति छिटै चौतारा बजारमा रौनक आउला भनेर मैले सोचेकी पनि थिइनँ।
कृष्ण श्रेष्ठ, ४१
५५ लाख रुपैयाँ खर्च गरेर घर बनाएको दुई महिना मात्र भएको थियो। पहिलो भूकम्पमा अलिअलिमात्रै क्षति भएको घर दोस्रो भूकम्प आउँदा गर्ल्याम्मै ढल्यो। फलफूल दोकानसहितको त्यो घर आफ्नै अगाडि ढल्दा म कहाँ जाउँ के गरौं जस्तो भएको थियो। तर भाग्यले बाँचिएपछि हिम्मत बिस्तारै बढेर गयो। र, अहिले घर बन्ने क्रममा छ। पहिलो घरको ऋण तिर्नै छ तर फेरि ऋण लिएरै घर बनाउँदैछु। सडकमा आएको त छु तर अरुको देखेरै भए पनि फेरि पूर्ववत् अवस्थामा फर्किनेछु। तर अब ठूलो घर होइन सानो बनाउँछु तर भूकम्प प्रतिरोधी बनाउँछु।
ठूलीमैया कार्की, ६५
मेरो घर १६ वर्ष पुरानो हो तर भूकम्पले केही बिगार्न सकेन। आफ्नो आसपासका घरहरू गर्ल्यामगुर्लुम्म ढले, केटाकेटी बुढाबुढीलाई सेना प्रहरीले आफ्नै अगाडि निकाले। त्यो देखेर साह्रै दुखी भए। कति दिनसम्म त केही खान पनि मन लागेन। बजार खण्डहर जस्तो भएको थियो। तर अहिले पहिलको जस्तै हुन लागिसकेको छ। त्यो दिन शनिवार नभएको भए मेरा नातिहरू पनि बाँच्ने थिएनन् होला किनकि उनीहरूको स्कूल पनि भत्किएको थियो।
रामजी बहादुर गिरी, ५९
भूकम्पले पालमा बस्न सिकायो। ठूलो घर, सम्पत्ति केही होइन। ज्यान नै सबथोक हो भन्ने सिकायो। तीन दशक यतादेखि यही चौतारा बजारमा किराना पसल गर्दै आएको छु। २०७२ सालको भूकम्पले चौतारा बजारमा त्यसरी क्षति पुर्याउला भन्ने कसैले सोचेको थिएन। सरकारी निकायले सोचेजस्तो गरी काम नगरे पनि धेरै मानिसले आफ्नै ढङ्गले पुनर्निर्माण गरेका छन्। मेरो घर बजार मै भएको र आंशिक क्षति भएकोले सरकारबाट पाउने राहत पाइन। तर मलाई कुनै गुनासो छैन। म खुसी छु किनकि बजारले पुनर्जीवन पाएको छ र मेरो जीविका रोकिएको छैन।