काभ्रेमा वैकल्पिक विमानस्थलको लागि 'अध्ययन'

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिक चाप घटाउन आन्तरिक विमानस्थल निर्माणका निम्ति काभ्रेपलान्चोक जिल्लाका विभिन्न तीन स्थानमा पुन: अध्ययन थालिएको सरकारले बताएको छ।

मंगलवार उक्त स्थानहरुको अवलोकन गर्न पुगेका पर्यटन मन्त्रीले २ हप्ताभित्र निर्माणस्थलबारे निर्णय गरिने र निर्माण प्रक्रिया अगाडि बढाउने बताएका छन्।

वैकल्पिक विमानस्थल बनाउन सके देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको चाप २० प्रतिशत सम्म घट्न सक्ने सरकारको अनुमान छ।

बनेपाको नागीडाँडा तथा धुलिखेलका दुई स्थानहरु ठुलीचौर र चिसापानी ठूलीचौरमध्ये एक स्थानमा आन्तरिक विमानस्थल निर्माण गर्न सरकारले अध्ययन थालेको हो।

मंगलवार सम्भावित क्षेत्रको अवलोकन गर्न पुगेका पर्यटन मन्त्रीले १५ दिनभित्र उपयुक्त एक स्थानबारे निर्णय गरिसक्ने बताएका छन्।

'तीव्रता'

त्रिभुवन विमानस्थलको हवाई चाप घटाउनका निम्ति ल्याइएको नयाँ विकल्पबारे नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, "त्यो दुई स्थानमध्ये कुन चाहिँ राम्रो हुन्छ त्यो हेरिनेछ।"

"त्यहाँको वातावरणीय प्रभाव, मौसमको असर, स्थानीयवासीहरूको समर्थन वा विरोध जस्ता विषयको अध्ययन गरेर एक स्थान छान्ने छौं।"

स्थानको छनोट हुनासाथ बाँकी प्रक्रियालाई तीव्रता दिइने बताइएको छ।

मन्त्रिपरिषद्बाट स्वीकृति लिने र ३ वर्षभित्र झन्डै ५ अर्ब रुपैयाँसम्मको लागतमा विमानस्थल बनाउने प्रारम्भिक खाका मन्त्रालयले अगाडि सारेको छ।

यद्यपी विमानस्थल बनाउन केही व्यक्तिगत जग्गा अधिग्रहण गर्नुपर्ने र केही सामुदायिक वन फाँड्नु पर्ने देखिएको छ।

स्थानीय बासिन्दा त्यसमा सहयोग गर्न तयार रहेको उद्योग वाणिज्य महासंघ काभ्रेका निवर्तमान अध्यक्ष सुरकृष्ण वैद्यले बताए।

'समर्थन'

उनले भने, "बनेपामा आन्तरिक विमानस्थल बनोस् भन्ने हाम्रो पुरानो चाहना हो। हामी उद्योगी व्यवसायी, स्थानीय बासिन्दा सबैको यहाँ पूर्ण समर्थन छ।"

जग्गाको सीमितताका कारण उक्त आन्तरिक विमानस्थलबाट सानो आकारको विमानमात्र सञ्चालन हुन सक्ने प्राधिकरणले जनाएको छ।

त्यहाँबाट हिमाली क्षेत्रमा साना विमान तथा हेलिकोप्टर उड्न सक्नेछन्।

उक्त विमानस्थल बने त्रिभुवन विमानस्थलमा हवाई ट्राफिकको चाप २० प्रतिशत सम्मले घट्ने अनुमान सरकारको छ।