किमले पारमाणविक परीक्षण अहिलेनै किन रोके?

उत्तर कोरिया

तस्बिर स्रोत, Getty Images

उत्तर कोरियाले तत्काल पारमाणविक र क्षेप्यास्त्र परीक्षण रोक्ने किम जङ-अनको घोषणा उनले दुईवटा महत्त्वपूर्ण कूटनीतिक घटनाका लागि तयारी गरिरहँदा आएको छ।

यो कदमबाट उनले के हासिल गर्न खोजेका छन् भन्नेबारे विश्लेषक अंकित पांडाले खोतल्ने प्रयास गरेका छन्।

उत्तर कोरियाको घोषणालाई पारमाणविक र लामो दुरीको क्षेप्यास्त्र परीक्षणको अन्त्यका रुप हेरेर निश्चयनै उल्लासपूर्ण समाचार शीर्षकहरू बन्नेछन्।

तर उक्त मुलुकको ऐतिहासिक पृष्ठभूमि र उसको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमको सन्दर्भ हेर्दा ती अपेक्षा फिक्का हुन सक्छन्।

आत्मविश्वास

पहिलो, पारमाणविक परीक्षणको प्रसङ्ग हेरौं।

उत्तर कोरिया

तस्बिर स्रोत, KCNA VIA REUTERS

तस्बिरको क्याप्शन, किम आफैले व्यक्तिगत रुपमा पारमाणविक कार्यक्रममा रुचि देखाउँदै आएका छन्

शनिवार जारी वक्तव्यले किम जङ-अनले स्वेच्छिक रुपमा परीक्षण रोक्न चालेको कदमको कारणबारे प्रष्ट पारेको छ।

सन् २००६ यताका सबै छवटा पारमाणविक परीक्षणको स्थल उनले किन बन्द गर्दैछन् भने उनी आफ्नो मुलुकले पारमाणविक अस्त्रको प्रारुपमा विज्ञता हासिल गरेको महसुस गर्छन्।

त्यसको पुष्टि गर्न कठिन छ तर त्यो दाबी पक्कै पनि बढाइचढाइ गरिएको वा अविश्वसनीय चाहिँ होइन।

भारत र पाकिस्तानलाई हेरौं।

सन् १९९८ सम्ममा ती दुवै मुलुकले छ/छ वटा पारमाणविक परीक्षण गरिसकेका थिए।

अहिले ती मुलुक पारमाणविक अस्त्र भएकाहरूको सूचीमा गनिएका छन्, कुनै थप परीक्षणविना नै।

पारमाणविक अस्त्रको प्रारुपसम्बन्धी ज्ञानमा अतिरिक्त आठ वर्ष पहुँच र छवटा पारमाणविक परीक्षणपछि उत्तर कोरियाले त्यस्तै महसुस गर्नसक्छ।

क्षेप्यास्त्र

क्षेप्यास्त्रको प्रसङ्गमा, ‍किमले अब अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण नगर्ने बताएका छन्।

एकातिर यो आश्चर्यमा पार्ने खालको देखिन्छ।

क्षेप्यास्त्र

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, उत्तर कोरियासँग क्षेप्यास्त्र प्रहार गर्ने साधनको कमी रहेको ठानिन्छ

उत्तर कोरियाले परीक्षण गरेका कुल क्षेप्यास्त्रमध्ये तीनवटा मात्रै संयुक्त राज्य अमेरिकासम्म पुग्न सक्छन्।

तर ती परीक्षणमा प्रयोग गरिएका कुनै पनि क्षेप्यास्त्र पारमाणविक प्रहारका लागि आवश्यक मार्गबाट प्रक्षेपित भएका थिएनन्।

अमेरिकामा पारमाणविक आक्रमण गर्ने आफ्नो क्षमतामा विश्वस्त नहुने अवस्थासम्म उसले थप परीक्षण गर्नुपर्ने आवश्यक ठान्न सक्छ।

तर उत्तर कोरियाको अन्य योजना पनि हुनसक्छन्।

जस्तै, अमेरिकालाई प्राविधिक रुपमा धम्क्याउन आवश्यक सबै कुरा उसले हासिल गरेको त छ तर ऊसँग क्षेप्यास्त्र प्रहार गर्न सीमित संख्यामामात्रै 'लन्चर'हरू हुनसक्छन्।

अहिले अन्तरदेशीय बलिस्टिक क्षेप्यास्त्र प्रहार गर्न उत्तर कोरियासँग सम्भवत: छवटा साधनमात्रै छन्।

तोड्न सजिलो वाचा

परीक्षण स्थगन गर्ने विषयका आफ्नै सीमितता छन्।

उत्तर कोरियाली घोषणा पुङगे-री पारमाणविक परीक्षणस्थलमा केही काम गरेर विश्वसनीय बनाउन सकिन्छ।

जस्तै, उत्तर कोरियाले आफ्ना परीक्षण सुरुङ नष्ट गर्नसक्छ।

तर शनिवार जारी वक्तव्यमा उसले उक्त स्थल केवल 'खण्डित' गर्नेमात्रै बताएको छ।

क्षेप्यास्त्रसँग जोडिरहे उत्तर कोरियाले स्वघोषित प्रतिबन्ध तोडिरहनसक्छ।

सन् १९९९ मा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण स्थगन गरेको थियो।

तर सन् २००६ मा आएर उसले तोड्यो।

शनिवार किम जङ-अनले प्रष्ट रुपमा भनेका छन् कि, पारमाणविक परीक्षणको अन्त्यसँगै उनी "शक्तिशाली समाजवादी अर्थतन्त्र बनाउन र जनताको जीवनस्तर उठाउन" काम गर्नेछन्।

यसलाई गम्भीरतापूर्वक लिइनुपर्छ किनकि यो उद्देश्य प्राप्तिका लागि उसले अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक प्रतिबन्धहरूबाट मुक्त हुन खोज्नेछ।

शिखरवार्ता एउटा पुरस्कार

उत्तर कोरिया

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जुन महिनाको पहिलो हप्तासम्ममा ट्रम्प र किमबीच शिखर वार्ता हुने बताइएको छ

अमेरिका र दक्षिण कोरियासँगका बहुप्रतीक्षित शिखर वार्ताअघि उत्तर कोरियाको पछिल्लो कदम आएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भेट्नुअघि नै किम किन यति लचिलो भएका हुन् भनेर कतिलाई आश्चर्य लाग्न सक्छ।

जवाफ सजिलो छ: अमेरिकी राष्ट्रपतिसँगको शिखर वार्ता आफैमा एउटा पुरस्कार हो।

किमका लागि यो हजुरबुबा वा बुबाले हासिल गर्न नसकेको विषय हो।

राष्ट्रपति ट्रम्पले समेत किमको कदमलाई "ठूलो प्रगति" भनी व्याख्या गरेका छन्।

तर जति छिटो किमको उद्देश्य उनले पहिचान गर्छन् त्यतिनै उनका लागि हितकर हुनेछ।

अंकित पांडा 'फेडेरेशन अफ अमेरिकन साइन्टिस्टस'मा आवद्ध छन् र 'द डिप्लोम्याट'का वरिष्ठ सम्पादक हुन्।