तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
डिआस-कनेल क्युबाका नयाँ राष्ट्रपति
राउल क्यास्ट्रोले पद त्यागेपछि राष्ट्रपतिमा डिआस-कनेलको नियुक्तिसँगै क्युबामा गत छ दशकदेखि जारी क्यास्ट्रो परिवारको शासन समाप्त भएको छ।
डिआस-कनेल यसअघि त्यहाँ उपराष्ट्रपति थिए।
कट्टर समर्थक
सन् १९५९ मा क्युबामा भएको क्रान्तिपश्चात् पहिलोपल्ट उक्त देशको शासनको वाग्डोर क्यास्ट्रो परिवारको हातमा अब रहेन।
डिआस-कनेललाई क्युबाको संसद्ले राउल क्यास्ट्रोको ठाउँमा पाँच वर्षका लागि निर्वाचित गरेको हो।
उनी राउल क्यास्ट्रोका कट्टर समर्थक हुन् र उनले कुनै ठूलो परिवर्तन गर्लान् भन्ने अपेक्षा गरिएको छैन।
डिआस-कनेलको जन्म क्युबाली क्रान्तिपश्चात् भएको भए पनि उनी राउलका समर्थक रहँदै आए।
उनलाई ६०५ सदस्यीय क्युबाली संसद् राष्ट्रिय सभाले निर्वाचित गरेको हो।
राष्ट्रपति पदका लागि उनी मात्रै अघि सरेका थिए।
शक्तिशाली
राष्ट्रपतिको पद त्यागे पनि राउल क्यास्ट्रो क्युबाको शक्तिशाली कम्युनिस्ट पार्टीका प्रमुख रहिरहनेछन्।
सो पार्टीले उक्त क्यारेबियन देशको राजनीतिक तथा सामाजिक गतिविधि रेखदेख गर्ने गर्छ।
राउल क्यास्ट्रो सन् २००६ मा उनका बिरामी दाजु फिडेल क्यास्ट्रोले पद छाडेपछि राष्ट्रपति भएका थिए।
बीबीसीका क्युबा सम्वाददाता विल ग्रान्ट भन्छन् क्युबाका नयाँ राष्ट्रपतिले आर्थिक गतिरोधमा रुमल्लिएको तथा परिवर्तनका लागि आकाङ्क्षी युवा जनसङ्ख्या भएको देश विरासतमा पाएका छन्।
साथै राउल र फिडेल क्यास्ट्रोले अँगालेको जस्तै क्रान्तिकारी विगतको अभावमै डिआस-कनेलले देशको नेतृत्व गर्नुपर्नेछ।