तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'नेपाल-चीनबीच उच्चस्तरीय भ्रमणको सहमति'
नेपाल र चीनबीच द्विपक्षीय उच्चस्तरीय भ्रमण यथाशीघ्र गर्ने सहमति भएको चीनस्थित नेपाली अधिकारीले जनाएका छन्।
चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउने लामो समयदेखिको चर्चाका बीच नेपालका पराष्ट्रमन्त्रीको चीन भ्रमणका क्रममा त्यस्तो सहमति भएको हो।
त्यसक्रममा चिनियाँ विदेशमन्त्रीले साझा समृद्धिको निम्ति भौगोलिक रुपमा जोडिएका नेपाल, चीन र भारतबीचको सहकार्यमा समेत जोड दिएको बताइएको छ।
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणलगत्तै उत्तरी छिमेक चीन गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँ उच्चस्तरीय भेटवार्ता गरेका छन्।
चीन सहमत
उपराष्ट्रपति वाङ छिशानसँगको शिष्टाचार भेटपछि मन्त्री ज्ञवालीले चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गरे।
चीनको एउटा शक्तिशाली निकाय मानिने राज्य परिषद्का सदस्य समेत रहेका विदेशमन्त्री वाङसँगको वार्तामा दुवै देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान गर्नेबारे सहमति भएको अधिकारीहरुले बताएका छन्।
बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले भने, "द्विपक्षीय उच्च भ्रमणलाई थप गति दिने कुरा हाम्रो पक्षमा उठाइएपछि चिनियाँ पक्ष त्यसमा सहमत भयो। कूटनीतिक माध्यमबाट मितिबारे आदानप्रदान गरेर अन्तिम रुप दिने सहमति भएको छ।"
नेपाल सरकार दुवै छिमेकीका कार्यकारी प्रमुखलाई नेपाल भ्रमणमा ल्याउने प्रयासमा रहेको बताइन्छ।
ओली पहिलो पटक प्रधानमन्त्री हुँदादेखि नै चिनियाँ राष्ट्रपति नेपाल आउने चर्चा थियो। सरकार परिवर्तनको श्रृङ्खलासँगै त्यो अहिलेसम्म चर्चामै सीमित छ।
अघिल्लो कार्यकालमा प्रधानमन्त्री ओलीले चीनसँग गरेका सम्झौतालाई लिएर उसबेला रुष्ट भनिएको भारतले हालै उनलाई दिल्लीमा स्वागत गरिसकेको छ। ओली छिट्टै चीन भ्रमणमा पनि जाने बताइएको छ।
त्रिपक्षीय सहकार्य
बलियो देखिएको वाम गठबन्धनको सरकारको झुकाव चीनतर्फ नबढोस् भन्नेमा दक्षिणी छिमेकीको चासो रहेको ठानिन्छ।
तर व्यापार र पारवहनमा भारतप्रति नेपालको परनिर्भरता घटाउन भन्दै अघिल्लो कार्यकालमा ओलीले चीनसँग गरेको सम्झौता कार्यान्वयन गर्न अग्रसरता लिने कुरामा पनि नेपाल-चीनबीच सहमति भएको छ।
नेपाली परराष्ट्रमन्त्रीको भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले त्रिपक्षीय सहकार्यको पक्षमा समेत मुख खोलेका छन्।
एकजना पत्रकारको जिज्ञासामा उनले दिएको जवाफबारे जानकारी दिँदै बेइजिङस्थिति नेपाली दूतावासका उपप्रमुख लम्सालले भने, "नेपाल, चीन र भारत भौगोलिक रुपमा पनि जोडिएका छन्। त्रिपक्षीय सहकार्यले साझा समुन्नतिलाई मद्दत गर्छ। त्यसैले तीनवटै देशलाई फाइदा गर्ने कुरामा हाम्रो सहकार्य अघि बढ्नु पर्छ भन्ने उहाँको भनाइ थियो।"
भारत त्रिपक्षीय साझेदारी/सहकार्यमा अनिच्छुक रहने गरेको बताइँदै गर्दा चीन त्यस मामिलामा मुखर हुँदै गएको पाइन्छ।
नेपालमा आ-आफ्ना संवेदनशील स्वार्थ भएको ठानिने दुवै शक्तिशाली छिमेकीलाई विश्वासमा लिन सक्नुमा वामपन्थी गठबन्धनको कूटनीतिक परीक्षण हुने जानकारहरु बताउँछन्।