नेपालको घरेलु क्रिकेट डीपीएलमा विदेशी खेलाडीहरू

तस्बिर स्रोत, RSS
'क्रिकेटको शहर' पनि भनिने धनगढी अहिले धनगढी प्रिमियर लिगको दोस्रो संस्करण (डीपीएल-२) का कारण चर्चामा छ। गत चैत्र १७ गते सुरु भएको प्रतियोगिता चैत्र ३० मा सम्पन्न हुँदैछ।
नेपालमा भएका क्रिकेट प्रतियोगितामध्ये डीपीएलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि राखिएको र स्तरीय खेल मैदान एवम् उच्चतम प्रविधि प्रयोग भएको बताइन्छ।
डीपीएलमा देशभित्रका बाहेक विदेशी खेलाडीहरू पनि खेलिराखेका छन्। नेपालको घरेलु क्रिकेट प्रतियोगितामा विदेशी खेलाडीहरू संलग्न भएको यो पहिलो अवसर हो।
राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थितिले दर्शकहरू पनि रोमाञ्चित देखिन्छन्। यो प्रतियोगतिमा विभिन्न छ टोलीमा गरेर कुल १२ विदेशी खेलाडीहरू छन्।
डीपीएल -२ को बारेमा यी चर्चित विदेशी खेलाडीहरू यसो भन्छन् -
सुफ्यान मेहमूद
छब्बीस वर्षीय मेहमूद ओमनको राष्ट्रिय टोलीका कप्तान हुन्।
उनी भन्छन्, "डीपीएल-२ ले नेपालका खेलाडीहरूलाई विभिन्न देशका खेलाडीहरूसँग खेल्ने र सिक्ने अवसर प्रदान गरेको छ । मेरा लागि पनि सिकाइको अवसर बनेको छ।"
बाबर हायत

तस्बिर स्रोत, DPL
सत्ताइस वर्षीय हायत हङकङको राष्ट्रिय टोलीका कप्तान हुन्।
उनी भन्छन्, "लिलामीबाट आएका १२ विदेशी खेलाडीहरू पनि खेलिरहेको डीपीएल-२ ले अन्तरार्ष्ट्रिय नेपाली खेलाडीहरूलाई विदेशी टीमसँग पनि जोडिन सहयोग पुग्छ जस्तो मलाई लाग्छ। म आफू पनि रमाइलो मानेर खेलिरहेको छु।"
रोहन मुस्तफा

तस्बिर स्रोत, DPL
उनन्तीस वर्षीय मुस्तफा यूएर्इको राष्ट्रिय टोलीका कप्तान हुन्।
उनी भन्छन्, "क्रिकेटको विकास र विस्तारका लागि स्थानीय स्तरमा भएको डीपीएल-२ प्रतियोगितालार्इ हामीले सकारात्मक रूपमा हेरेका छौँ । हामी पनि रमाइलो गरिरहेका छौँ।"
अस्पाक अहमद
तेइस वर्षीय अहमद यूएईका खेलाडी हुन्।
उनी भन्छन्, "मैले क्रिकेट धेरै खेलेँ । नेपालमा क्रिकेट खेल्ने धोको थियो । गत वर्षदेखि डीपीएल खेल्ने चाहना हुँदाहुँदै पनि अवसर पाएको थिइँन। साथीहरूको सहयोगमा यस पटक खेल्न पाउँदा निकै खुसी लागेको छ।"









