गोली हानिएपछि पहिलो पटक मलाला पाकिस्तानमा

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाइ तालेबान लडाकुहरूले उनीमाथि गोली प्रहार गरेको घटनापछि पहिलो पटक पाकिस्तान फर्केकी छन्।
हाल २० वर्ष पुगेकी युसुफजाइ एक प्रखर अधिकारकर्मी हुन्।
बालिका शिक्षाको पक्षमा अभियान चलाएको भन्दै सन् २०१२ मा एकजना बन्दुकधारीले उनको टाउकोमा गोली हानेका थिए।
'सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै' युसुफजाइको भ्रमणसम्बन्धी विस्तृत विवरण गोप्य रखिएको एकजना अधिकारीले समाचार संस्था एएफपीलाई बताए।
अपेक्षा
युसुफजाइले प्रधानमन्त्री शाहिद खकान अब्बासीसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ।
कडा सुरक्षाबीच इस्लामाबादस्थित बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना आमाबुबासँग उनी देखिएको भिडिओ फूटेज पाकिस्तानी टेलिभिजनहरूले देखाएका छन्।

तस्बिर स्रोत, EPA
११ वर्षकै उमेरमा युसुफजाइले तालेबान विद्रोहीको शासनमा उत्तर-पश्चिमी पाकिस्तानमा आफ्नो जिन्दगीबारे बीबीसी उर्दूका लागि अज्ञात डायरी लेख्न शुरू गरेकी थिइन्।
लडाकुहरूको दमनका माझ बालिका शिक्षाकी एक प्रखर अभियानकर्मी युसुफजाइमाथि १५ वर्षकी छँदा उनी चढेको स्कूल बसमाथि आक्रमण गरिएको थियो।
ख्याति
त्यसपछि उनको कथाले अन्तर्राष्ट्रिय ख्याति दिलायो।
उनीमाथि गोली प्रहार गरिएपछि उपचारका लागि ब्रिटेनको बर्मिङघम पुर्याइयो। र, पछि उनको परिवार त्यहीँ बस्न थाल्यो।
सन् २०१४ मा नोबेल शान्ति पुरस्कार जितेपछि युसुफजाइले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनसँगै शिक्षासम्बन्धी अभियान पनि जारी राखेकी छन्।
सन् २०१४ मा बीबीसीसँगको एउटा अन्तर्वार्तामा उनले आफ्नो अध्ययन सकेपछि पाकिस्तानको राजनीतिमा प्रवेश गर्ने र देशको प्रधानमन्त्री बन्ने उद्देश्य राख्ने बताएकी थिइन्।








