रोहिंज्याको अवस्थालाई लिएर सूचीको आलोचना

तस्बिर स्रोत, Reuters
म्यानमारका लागि मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघकी विशेष प्रतिनिधिले म्यानमारकी नेतृ आङ साङ सूची त्यहाँका रोहिंज्या मुसलमान अल्पसंख्यकलाई सुरक्षा दिन विफल भएको भन्दै आलोचना गरेकी छन्।
नोबेल पुरस्कार विजेता मलाला युसूफजाईले पनि रोहिंज्याहरु प्रति गरिएको व्यवहार दुःखद र लज्जास्पद भएको टिप्पणी सामाजिक संजाल ट्वीटरमार्फत् गरेकी छन्।
पछिल्लो दश दिनमा सतासी हजार रोहिंज्या मुसलमानहरु त्यहाँबाट भागेर बांग्लादेश प्रवेश गरेको संयुक्त राष्ट्र संघले बताएको छ।
विफल
म्यानमारका लागि मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघकी विशेष दूत याङ्हि ली ले राखाइन प्रान्तमा स्थिति साँच्चै नै गम्भीर रहेको र नेतृ सूचीले हस्तक्षेप गर्ने समय आएको बताइन्।
ली ले नेतृ सूची अप्ठेरो अवस्थामा रहेको स्वीकार गरिन् तर त्यहाँ फैलिएको हिंसाको निन्दा गर्न उनी विफल भएको बताइन्।
म्यानमार र बांग्लादेशको सीमानामा रहेका बीबीसीका एकजना संवाददाता भन्छन् - रोहिंज्या शरणार्थीहरुलाई प्रवेश गर्नबाट रोक्ने बांग्लादेश सरकारको आदेश भएपनि त्यहाँका स्थानीय सीमा प्रहरीले उनीहरुलाई प्रवेश गर्न दिइरहेका छन्।
प्रहरी चौकीहरुमाथि रोहिंज्याका उग्रवादी समूहले आक्रमण गरे लगत्तै सरकारी सेनाले कारवाही थालेपछि अहिलेको हिंसा भड्किएको हो।
यसबीच नोबेल पुरस्कार विजेता शिक्षा अभियानकर्मी मलाला युसुफजाईले अर्की नोबेल पुरस्कार विजेता तथा म्यानमारकी नेतृ आङ साङ सूचीले उक्त हिंसाको भत्सर्ना गरेको हेर्नका लागि आफूले प्रतीक्षा गरिरहेको सन्देश सामाजिक संजाल ट्वीटरमा राखेकी छन्।
म्यानमारको सेनाले भने उसले सर्वसाधारणहरुमाथि आक्रमण गर्ने रोहिंज्या उग्रवादीहरु विरुद्ध कारवाही अभियान थालेको बताएको छ।
तर सीमित पहुँचका कारण स्वतन्त्र रुपमा त्यहाँको स्थिति पुष्टि गर्न नसकिएको जनाइएको छ।
एसियाका मुस्लिम राष्ट्रहरुले अल्पसंख्यक रोहिंज्या मुसलमानहरुले भोगिरहेको अवस्थाप्रति चासो व्यक्त गरेका छन् र कतिपय ठाउँमा रोहिंज्याहरु प्रति गरिएको व्यवहारविरुद्भ स-साना समूहमा प्रदर्शनहरु भएका बताइएका छन्।








